काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले अन्तर्राष्ट्रिय द्वन्द्व र आन्तरिक आर्थिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएपछि मूल्य वृद्धि गर्ने बाध्यात्मक निर्णय लिनुपरेको स्पष्ट पारेको छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्यापिङ रोल र जार जस्ता अत्यावश्यक कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ।
मूल्य वृद्धिको मुख्य कारणका रूपमा अन्तर्राष्ट्रिय बजारको अस्थिरता र पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई लिइएको छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका बीचको द्वन्द्वात्मक सम्बन्धले गर्दा अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा नकारात्मक प्रभाव परेको महासंघको ठहर छ। डिजेलको मूल्य बढेसँगै ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेकाले हाल कायम मूल्यमा पानी बिक्री गर्दा उद्योगहरू धाराशायी हुने अवस्था आएको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताउनुभएको छ।
हाल नेपालभर ६ सय २० भन्दा बढी पानी उद्योगहरू सञ्चालनमा रहेका छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। यस क्षेत्रले प्रत्यक्ष रूपमा ३० हजारभन्दा बढीलाई रोजगारी प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्र र राजस्वमा समेत ठूलो योगदान पुर्याउँदै आएको छ। महासंघले यो मूल्य वृद्धि नाफा कमाउने उद्देश्यले नभई उद्योग जोगाउनका लागि चालिएको कदम भएको दाबी गरेको छ।
महासंघले सरकारसँग उद्योगमैत्री नीति ल्याउन र कूटनीतिक पहल मार्फत कच्चा पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न माग गरेको छ। साथै, आम उपभोक्ता, वितरक र सरोकारवालाहरूलाई उद्योगको संरक्षण र सेवाको निरन्तरताका लागि यस बाध्यात्मक मूल्य समायोजनमा सहयोग गरिदिन महासंघले अपिल गरेको छ।

