रोल्पा । राेल्पाकाे थबाङ गाउँपालिकाको घोराबाङ देखि उवा सम्म गुराँस पदयात्रा आयोजना गरिने भएकाे छ । पर्यटन प्रर्वद्धनका लागि जिल्लामै पहिलो पटक रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ४ घोराबाङले ३ दिने गुराँस पदयात्राको आयोजना गरेकाे हाे ।
पदयात्राको उद्घाटन लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगर र प्रदेश सभा सदस्य यमुना रोकाले गर्नेछन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याउने उदेश्यका साथ नयाँ वर्षको अवसरमा चैत्र २९ गतेदेखि ३१ गतेसम्म गुराँस पदयात्रा तय गरिएको वडाध्यक्ष हिक्मत घर्तिले जानकारी दिए ।
तिन दिनसम्म लालिगुराँसको अवलोकनसँगै विभिन्न ऐतिहासिक स्थानहरुको अवलोकन र स्थानीय कला सँस्कृतिहरुको प्रदर्शनी गरिने छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको गुराँस पदयात्रामा उल्लेख्य रुपमा पर्यटकहरूको आगमन गराउन सकिने लक्ष्य राखिएको छ ।

चैत्र २९ गतेबाट सुरु हुने गुराँस पदयात्राको पहिलाे दिन स्थानीय झाँकी समूहहरूद्वारा पदयात्रामा सहभागिहरुलाई स्वागत तथा सम्मान गरिनेछ । त्यसपश्चात घोराबाङको केहि माथि खसेर भन्ने स्थानमा बासको व्यवस्था गरिएको छ । त्यहाँ साँझको समयमा विभिन्न झाँकी, स्थानीय कला सँस्कृतिको प्रर्द्शनका साथै विभिन्न प्रतिभा प्रदर्शन गरिनेछ ।
चैत ३० र ३१ गते जलाकी भन्ने स्थानमा रहेको सहिद गेट, जन्तरे दह, तिकाचुली पहाडको अवलोकनसँगै धवलागिरी, पुथा, माछापुच्छे, सिस्ने हिमश्रङ्खलाको समेत अवलोकन गराइनेछ । नेपालको उत्कृष्ट सय पर्यटकीय गन्तव्य मध्ये पर्ने जलजला क्षेत्र पनि गुराँस फूल्ने ठाउँबाट नजिकै पर्दछ ।
साथै पर्यटन प्रर्वधनका लागि विभिन्न वक्ताहरुको सहभागितामा गुराँस बहस समेत हुने भएको छ । गुराँस बहसमा लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनमगर र प्रदेश सभा सदस्य यमुना रोकामगर, थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगर लगायतका वक्ताहरुको सहभागितामा बहस हुनेछ ।

पर्यटनको माध्यमबाट यस ठाउँलाई माथि उठाउने र पर्यटन व्यवसायको रुपमा अगाडी बढाउने लक्ष्य लिएको वडाध्यक्ष घर्तिले बताए । पर्यटन क्षेत्रको विकासको लागि यस खालको बहसले नयाँ रुप लिने समेत उनले विश्वास व्यक्त गरे ।
उवामा विभिन्न आठ भन्दा बढी प्रजातिका लालिगुराँसहरू फूल्ने गरेको पाइन्छ । उक्त गुराँस फूल्ने ठाउँमा भर्खरै नेपाली चलचित्र जलाकीको छायाङ्कन समेत सकिएको छ ।


