संघीय संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।
सरकारले यसपटक चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ भने विकास निर्माण र पूर्वाधारका लागि पूँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ छुट्याएको छ । अघिल्ला वर्षहरूका तुलनामा बजेटको खर्च प्रणालीमा सुधार ल्याउन र फजुल खर्च नियन्त्रण गर्न यसपटक बजेटको सिलिङ र प्राथमिकताहरूमा विशेष ध्यान दिइएको सरकारको दाबी छ ।
यस बजेटको खर्च बेहोर्ने स्रोततर्फ सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । राजस्वले नपुग्ने बाँकी रकमका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान र २ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋण परिचालन गर्ने योजना बनाएको छ भने थप ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत उठाइने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । सरकारले आन्तरिक उत्पादन वृद्धि, वित्तीय स्थायित्व र डिजिटल अर्थतन्त्रको विकासलाई स्रोत व्यवस्थापनको मुख्य आधार बनाएको देखिन्छ ।
क्षेत्रगत विनियोजनतर्फ यस वर्ष भौतिक पूर्वाधार तथा सहरी विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा अर्थात् २ खर्ब ६८ अर्ब रुपैयाँ प्राप्त गरेको छ । शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन पूर्वाधार क्षेत्रपछिको दोस्रो ठूलो विनियोजन हो । यसैगरी, सरकारले देशव्यापी खेलकुद गतिविधि र पूर्वाधार विकासका लागि ४ अर्ब ३ करोड रुपैयाँ र वन, वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रका लागि १२ खर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य बीमा बोर्डका लागि बजेट बढाएर १५ अर्ब रुपैयाँ पुर्याइएको छ र बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन व्यापक पुनर्संरचना गरिने घोषणा गरिएको छ ।

