के बालेनले पदीय जिम्मेवारी पूरा गर्न नसकेकै हुन् त ?

जसरी बालेनले निर्वाचनका क्रममा मेयर भइसकेपछि जनताका घरघरमा आएर भेट्ने वाचा गरेका थिए, अहिले त्योे सबै बिर्सेर उनी आफ्नै जयजयमा रमाइरहेका भन्ने अभिव्यक्ति सामाजिक संजालमा देखिन थालेका छन् । जनतासँग उनी जोडिएका छैनन् । न त उनले कहि कतै जनताका गुनासाहरु सम्बोधन गरेका छन् ।

spot_img

बालेन्द्र शाह (बालेन) को चुनावी चर्चा अनि जितपछिको उनीप्रतिको आशाले बालेन सबैको आँखाको केन्द्रविन्दुमा थिए । बुढाहरुले गर्दा विकास हुन सकेन भनेर यूवाको आवाज चर्किरहेका बेला संघिय राजधानीमै यूवाको प्रवेशले जनतामा उनीप्रतिको आशा र विश्वास चुलिएको थियो । बालेनलाई राजनितिको रोलमोडलका रुपमा लिइराखिएको थियो ।

एक त बालेन यूवा त्यसमाथी दलिय भागबण्डाबाट माथी एक स्वतन्त्र जनप्रतिनिधि । बालेनले काठमाडौमा मेयरमा जीत हासील गर्दैगर्दा दलिय भागवण्डाको बिचमा एक्लो स्वतन्त्र व्यक्तिले कसरी काम गर्छ, उनलाई दलहरुले पेलेरे लैजान्छन् भन्ने धेरैको आकलन थियो र छ पनि ।

त्यसका बाछिटाहरु बेलाबेलामा हामीले देखि रहेका पनि छौ । वडाध्यक्षहरुले बालेनका निर्णयमा साथ नदिएको बेला होस या संघिय सरकारले बालेनका र्निणयलाई उल्टाएका बेला होस् । काठमाडौँको फोहोर व्यवस्थापनका कुरालाई लिएर होस् या पुराना नदि नाला, ढुङ्गेधारा उत्खनन गर्ने काममा संघिय सरकारले प्रत्यक्ष हस्तक्षेप गरेको भान भइरहेको छ । अझ पछिल्लो समय महानगरको प्रमुख प्रशाशसकिय अधिकृत सरोज गुरागाईको महानगरको वापसिमा त झनै संघिय सरकारको प्रत्यक्ष हस्तक्षेपको धेरैले आभास गरे ।

कसरी उदाए बालेन ?

कालो चस्मा, झ्याप्प दाह्री र कोट लगाएका एक व्यक्ति । लौरो चुनावचिन्ह, व्यवहारमुखि घोषणापत्र, फरक चुनावकाे प्रचार प्रसार शैली अनि अन्य राजनितीक दलले उम्मेदवार छनौट गरीरहेका बेला विभिन्न राजनितीकर्मि अनि सेलिब्रेटिलाई भेट्दै सल्लाह सुझाव र आशिंवाद लिदै युवालाई साथमा लिदै बालेनले उम्मेदवारी घोषणा गरे । उनका हरेक जुलुसमा युवाहरुको संख्या दिनादुदिन बढ्दै गयो । बालेनको चर्चा झन चुलिदै गयो ।

बालेन भोट माग्ने क्रममा प्रायः नेपालको चन्द्रसूर्य अंकित वास्तविक झन्डा नै ओढेर हिँडे । आफ्नै प्रतिद्धन्दी केशव स्थापितसँग अकस्मात भेट हुँदा बालेनले आक्रोशको साटो ‘आशीर्वाद’ मागे ।

चुनावअघि बालेनको चर्चा चुलिँदै जाँदा कतिपयले आठ हजार भोट कटाएमा कान काटेर फालिदिन्छु समेत भने । यद्यपि, बालेनका समर्थक कम थिएनन् । चुनावी प्रचारको समयमा उनको समर्थनमा सामाजिक सञ्जालमा राम्रै क्रेज देखियो । उनका सर्पोटरले उनीविरुद्ध लेख्नेलाई त निशेध नै गर्ने काम समेत गरे । एउटा आलोचनात्मक ब्लग छापेकै आधारमा उनीहरुले अनलाइन खबरलाई ब्लक गर्ने ह्वीम चलाए । यसरी विपक्षमा लेख्ने मिडियालाई उनका समर्थकले समेत राम्रै ‘काउन्टर’ दिए ।

सामाजिक संजालमा बालेन एकलौटी छाए । तै पनि धेरैजसो नेताहरुले सामाजिक संजालमा रोइलो गर्नेहरु र भोटर फरक हुन भन्ने अभिव्यक्ति समेत दिए । तर सामाजिक सञ्जाल मात्र नभएर काठमाडौका भोटर समेत बालेनको पक्षमा देखिए ।
यहि समर्थन र बालेनको व्यवहारमुखी घोषणापत्रले चुनाव जिते पनि । चुनावअघि जुलुस निकालेर भोट मागेका उनले निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरे । सोही बाचामा अडिग रहँदै उनले सपथग्रहणमा समेत माला लगाएनन । यसले पनि अब त केहि हुन्छ भन्ने आशाले उनीप्रतिको विश्वास समेत बढ्यो ।

बालेनले उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई प्रमुख एजेण्डा बनेर अगाडि बढे । काठमाडौँको फोहोर देखि वाक्क भएका काठमाडौबासीले यसकारण पनि उनलाई अत्याधिक मत दिएर विजयी गराए ।

चर्चाको केन्द्रविन्दुमा बालेन

एक सामान्य इञ्जिनियर र र्याप गीत गायक बालेन महानगरको मेयरको उम्मेदवारीदेखि निर्वाचित भइसकेपछि पनि चर्चामै रहे । अहिले पनि उनको चर्चा रोकिएको छैन ।

नकारात्मक होस् वा सकारात्मक उनी सधै चर्चाको केन्द्रबिन्दुमा रहिरहन्छन् ।

बालेनले चुनावका बेला आफ्नो २८ बुँदे प्रतिबद्धतापत्र बाँडेका थिए । जसमध्ये उनले धेरैजसो कामहरुको शुरुवात गरे ।
बालेनले निर्वाचित भएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा धेरै प्रयास गरे । तर, सिसडोलवासीले फोहोर व्यवस्थापन गर्न दिएनन् । प्रहरी र स्थानीयबीच ठूलो झडप भयो । लामो समयसम्म काठमाडौंको फोहोर उठेन । बालेनले फोहोर उठाउने काम प्रदेश र संघीय सरकारको पनि भएको भन्दै केही दिन चुप्प लागे । लामो समयसम्म काठमाडौंको फोहोर नउठेपछि मेयर बालेनको आलोचना सुरु भयो । त्यसपश्चात भने बालेनले सिंहदरबारको समेत फोहोर उठाएनन् । तर पछि भने सिसडोलवासीसँग समन्वय गरेर फोहोर उठाए । काठमाडौको फोहोर सफाइ अभियानमा काठमाडौका मात्र नभएर देशैभरका यूवाबाट सामाजिक संजालबाट बालेनलाई निकै राम्रो साथ पाए ।

त्यसैगरी बालेनले कुहिने र नकुहिने फोहोर छुट्ट्याएर फोहोर संकलन गर्ने कुराले पनि उनी चर्चामा आए । बालेनले फोहोर नछुट्याए नउठाउनेसम्म भनेका थिए । तर यसको पनि प्रभवकारी रुपमा कार्यान्वय हुन सकेन ।

त्यस्तै, महानगरको स्वामित्वका सडक भत्किए तत्कालै बनाइने जनाइएको पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय गरीयो । तर उनको यो योजनाले समेत निरन्तरता पाउँन सकेन ।

बालेनको प्रतिबद्धतापत्रमा भएको अर्काे कुरा हो, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता जस्ता प्रमाणपत्र र वृद्धभत्ता पनि नागरिकलाई ‘होम डेलिभरी’ गरिदिने । काठमाडौँ महानगरमा भ्रष्टाचारविरुद्धको विशेष फोर्स बनाउने, सरकारी प्रक्रिया अनुगमन गर्न स्थानीय जनतासँग महानगर प्रमुखको मासिक वडा बैठक गर्ने । तर यी प्रतिबद्धताहरु पनि कता अलपत्र परे अत्तोपत्तो छैन ।

मेयर बालेनले चर्चा पाएको अर्को विषय हो काठमाडौंको फुटपाथ व्यवस्थापन । उनले महानगर प्रहरीलाई लगाएर फुटपाथका व्यापारीलाई हटाउन लगाएको विषयले उनले चर्चाका साथै आलोचना पनि भयो । महानगर प्रहरीले फुटपाथ व्यापारीलाई हटाउँदा र सामान खोस्दाका केही भावुक दृश्यहरु समाचारमा माध्यममा बाहिरिएपछि बालेनको थप आलोचना भयो । फुटपाथ व्यापारीले त महानगर घेर्नेसम्मको काम समेत गरे ।

त्यस्तै, बालेनले अनाधिकृत संरचना भत्काउन डोजर लिएर आफै फिल्डमा उत्रिए । उनले महानगरबाट भूमिगत पार्किङको स्वीकृति लिएर नक्सा पास गरेका तर त्यस्ता पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग गर्नेलाई कारवाही गर्ने संरचना भत्काउने काम गरे । यसरी अनाधिकृत संरचना हटाउँदा उनले सुरुमा वाहीवाही पाए । तर बालेनको यो कामले निरन्तरता पाउन सकेन । यस विषयमा अहिले बालेन मौन देखिन्छन् ।

बालेनको प्रशंसा पाएको अर्को काम हो, जमिनभित्र लुकाएर राखेको टुकुचा खोला खोज्ने विषय । उनले टुकुचा खोला भेटाए पनि । बालेनले टुकुचा माथी बनेका संरचनाहरू भत्काउने योजना अगाडि सारे र सोहि अनुसार गरे पनि । टुकुचा खोला खोज्ने क्रममा हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । विगतमा राजदरबारले प्रयोग गर्ने मर्सिडिज गाडी काठमाडौं हात्तिसारमा रहेको लक्ष्मी बैंकको बेसमेन्टमा भेटिएपछि त्यो घटनाले बालेनलाई थप चर्चामा ल्यायो । सडकका अतिक्रमण हटाउने देखि लिएर टुकुचा उत्खनन गर्दा समेत डोजरसँगै बालेन आफू पनि उभिए । तर तारन्तार अदालतको ‘स्टे अर्डर’ आदेश आएसँगै उनी सेलाए । टुकुचा खोला उत्खनन्को विषय पनि अधुरै रह्यो ।

यसैगरी, बालेनले चर्चा र गाली खाएकाे अर्काे विषय हाे, बागमति किनारकाे सुकुम्बासी बस्ती हटाउनु । महानगरको प्रमुखमा उम्मेदवारी दिएपछि मत माग्दै सुकुम्बासी बस्ती पुगेका बालेनले बस्ती हटाउनु नै विकास नभएको बताएका थिए । तर, यसको ठ्याक्कै उल्टो बागमती नदी किनारामा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयास गरे । सुरुमा महानगर डोजर लिएर सुकुम्वासी बस्तीमा पसेपछि ठूलो विवाद भयो । सुकुम्बासीहरु हातमा तरबार, खुकुरी तथा विभिन्न हतियारहरु लिएर सडकमा निस्किए । महानगर प्रहरी र सुकुम्वासीको झडप पनि भयो । जसमा दर्जनौं मानिस घाइते भए । बालेनको यस कामलाई कतिले पपुलिष्ट काम भने त कतिले प्रशंशा गरे ।

एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र बालेनको समाजिक सञ्जालमार्फत् यो विषयमा भनाभन समेत भयो । तर बालेनको यो कामले पनि निरन्तरता पाउन सकेन ।

बालेनका काम : हेर्दा सामान्य तर बलियो प्रभाव

बालेनले गरेका हेर्दा सामान्य तर महत्वपूर्ण कामले पनि बालेनको चर्चालाई थप मलजल गर्यो ।

बालेनले महानगरका बैठक लाइभ गर्ने प्रतिवद्धता जनाएका थिए । जसमा वडाध्यक्षहरुको असन्तुष्टि समेत थियो । तर बालेनको यहि निर्णयले बालेनका बिरोधी समेत समर्थक बने ।

बालेनले नेवा संस्कृतिलाइै ब्राण्डिङ गर्दै लगे । महानगरलाई नेवा:संस्कृतिसँग जाेड्ने उनकाे काम प्रशंसनिय भएकाे भन्दै काठमाडाैबासीले तारीफ गरे ।

उनले महानगरभित्र शिक्षा, सम्पदा सुदृढीकरण, प्रत्येक वर्ष आयोजना हुने सीप मेला, घरपालुवा जनावरका लागि आवश्यक स्वास्थ्य सुरक्षा र जात्रा प्रवद्र्धन गर्न भूमिका खेलेका छन् ।

महानगरभित्रका हरेक संस्थागत विद्यालयलाई कक्षा ११ मा १० प्रतिशत छात्रवृत्ति अनिवार्य गराए । यस्तो छात्रवृत्तिका लागि महानगर आफैले सामुदायिक विद्यालयका विद्यार्थीसँग परीक्षा लिएर छनोट गर्ने गरेको छ ।

महानगरभित्रका विद्यालयलाई ‘बुक फ्रि फ्राइडे’ अभियान चलाएर हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने अभ्यास थालिएकाे छ ।

न्यूरोडको फुटपाथ फराकिलो बनाए । फुटपाथ फराकिलो बनाउने क्रममा सडक विभागसँग विवाद भएपछि यो मुद्दा अदालतसम्म पुग्यो । पाटन उच्च अदालतले महानगरको पक्षमा फैसला गरेपछि जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ फराकिलो बनाइएको छ ।

त्यस्तै, काठमाडौँ महानगरको बाल उद्धार कार्यदलको टोलीले नेपाल प्रहरी र काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का जनप्रतिनिधिसँगको समन्वयमा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट घरेलु हिंसामा परेकी एक नाबालिकाको उद्धार गरेको थियो ।

काठमाडौँ महानगरभित्र हुने आन्दोलनहरूमा फोहोर गर्ने दल र समूहलाई पनि जरिबाना गर्ने अभ्यास थालियो । जसकारण थालेपछि आन्दोलन गर्ने दल र समूह आफैले सडक र आसपास सफा गर्न थालेका छन् । राजावादी प्रदर्शनका क्रममा महानगरभभित्र फोहोर र तोडफोड भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले जरीवाना पत्र पठाएपछि बालेनको निकै नै तारीफ भएकाे थियाे ।

यसैगरी, शहरको सौन्दर्यीकरण गर्नका लागि काठमाडौँका विभिन्न स्थानमा परम्परागत फल्चा बनाउन थालिएको छ । पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा पनि काम भइरहेको छ ।

बालेनले गरेको विभिन्न कामहरुले उनलाई चर्चामा ल्याइरह्यो । कहिले सकारात्मक त कहिले नकारात्मक । उनले महानगरको विकासमा विभिन्न नयाँकामहरु थालनी गरे । कतिपय काममा उनीसफल भए पनि कति कामलाई उनले निरन्तरता दिन सकेनन् । महावाकांक्षा राखेका भेरै कामहरु अधुरै छोडिए ।

तरपनि, धेरैजसोले बालेनका कामले निरन्तरता नपाउनुको कारण संघिय सरकारको प्रत्यक्ष हस्तक्षेप र करप्ट सिस्टम रहेको भन्ने निष्कर्श निकाले । सामाजिक संजालमा त झन बालेनका अधुरा कामहरुको गाली पनि राजनितिक दलहरुले खाए ।

बालेन बिम्ब : राजनितिक दलको विकल्प

बालेलने गरेको कामको चर्चा हुनु र बालेनले अधुरै छोडेका कामको अपजस संघिय सरकार र करप्ट पोलिटिकल सिस्टमलाई दिनुले नेपालको दलीय राजनीति प्रतिको वितृष्णा स्पष्ट औँल्याएको छ  ।

मेयरमा चुनिपछि बालेनले निर्वाचन संगठन र पैसाले होइन, कलाले जितिन्छ भन्ने राजनीतिक पाठ सिकाएका बालेन भ्रष्टाचार गरेर दशकौदेखि अरबौँ कमाएर कार्यकतामाथी करोडौँ खर्चेर मात्रै प्रशंशा कमाइदैन भन्ने पाठ सिकाए ।

बालेनले चुनाव जितेपछिको धेरै समयसम्म उनका काम र निर्णयको निकै नै तारीफ भयो । बालेनले निडर, आफ्नो निर्णमा अडिग र क्वालिफाइड मेयरको उपमा पाए । बालेनका कामको केहि दलिय गुट बाहेक यूवादेखि वृद्ध सम्म उनको चर्चा देशैभरी चुलियो । काठमाडौलाई ‘बालेन सिटि’ भनेरै नामाकरण समेत गरे । बालेनका नाममा गितै समेत बने ।

तर, जसरी बालेनले निर्वाचनका क्रममा मेयर भइसकेपछि जनताका घरघरमा आएर भेट्ने वाचा गरेका थिए, अहिले त्योे सबै बिर्सेर उनी आफ्नै जयजयमा रमाइरहेका भन्ने अभिव्यक्ति सामाजिक संजालमा देखिन थालेका छन् । जनतासँग उनी जोडिएका छैनन् । न त उनले कहि कतै जनताका गुनासाहरु सम्बोधन गरेका छन् ।

पछिल्लो समय यूवाहरुले समेत बालेनको यस्ता खालका गतिविधिलाई पूराना दलका नेताहरुसँग दाज्न सुरु गरेका छन् भने, पूराना दलहरुले खिसिट्युरी गर्न शुरु गरीसकेका छन् ।

महानगर अधिकृतलाई जसरी संघिय सरकले बालेनले भने विपरित ल्याएर पालिकामा हाजीर गराइदिए पछि भड्किएका बालेन अझै पनि पालिकामा देखिदैन्न् । भेटिदैनन । उनका संघिय सरकार र अधिकृत गुरागाईसँग अनेकन मतभेद होलान । तर, बालेनलाई त्यहाँसम्म पुगाउने जनताका लागि भने बालेनले आफ्नो पदिय जिम्मेवारी र उनीमाथीको जनताको विश्वासलाई निभाउनैपर्छ ।

अझ बालेनले करिब ६ महिनायता कार्यपालिकाका बैठक नराख्दा पालीकाका समपूर्ण कामहरु ठप्प भएका छन् । महानगरको ठूलो हिस्सा बजेट फ्रिज भएको छ । यसले प्रत्यक्ष रुपमा जनतालाई नै मार्का पारेको छ । बालेनले केहि दिनअघि मात्रै वडाध्यक्ष र उपप्रमुखसँग बसेर कार्यपालिका बैठक राख्न सहमत भएका छन् । तर बालेनले डाँकीरहेका बैठकमा गुरागाईलाई सहभागी गराइरहेका छैनन् । महानगरका प्रमुख प्रशाशकिय अधिकृत र मेयरबिचकाे याे बेमेलले घाँटा सबै महानरवासीलाई हुन्छ ।

जसरी दलिय स्वार्थका कारण निराशा छाएका जनतामा विकल्पका रुपमा उदाएका बालेनले यो आशा र विश्वासलाई जसरी पनि कायम राख्नैपर्छ । बालेनलाई आफ्नो इगोमा रुमल्लिएर हार्ने छुट छैन ।

अन्त्यमा, जसरी स्वतन्त्र उम्मेदवारबाट जनताले आशा राखेका थिए, त्यो आशा बालेनले कायम राख्नैपर्छ । यदि बालेन हारे भने भ्रष्टाचारमा लिप्त देखिएका दलले मौका पाउनेछन् फेरी आफ्नो रजगज गर्न । अनि हार्नेछन् बालेनको उदयले यूवाले देश विकास गर्छ भन्ने आशा बोकेकाहरु र बालेनजस्तै बनेर देशको सेवा गर्छु भन्ने सपना बोकेका पछिल्लो पिढीँ । त्यसैले पनि बालेनका बोलि, सपना र अठोटमा एउटै कुरा गुन्जिरहनुपर्छ की, बालेन तिमीलाई हार्ने छुट छैन ।

हुन त, बालेन एक व्यक्ति हुन् र उनको पनि सीमा छ  । तर बालेनले जसरी सपना बाँडेका छन् त्यसका लागि उनले रणनिति बनाएर काम गर्नुपर्ने आवश्यक छ ।

यदि उनको घेराभित्रको भिडले उनलाई ‘महानायक’ वा ‘महामानव’ बनाउन लागिपरेको छ भने पनि, बालेन त्यो भिडतन्त्रबाट बाहिर आऊन र आफूलाई राम्ररी ऐनामा हेरुन । यसो भएमात्र नेपाली राजनीतिमा धेरै बालेनहरू जन्मिनेछन् ।
हुन त, बालेन एक व्यक्ति हुन् र उनको पनि सीमा छ  । तर बालेनले जसरी सपना बाँडेका छन् त्यसका लागि उनले रणनिति बनाएर काम गर्नुपर्ने आवश्यक छ ।

सम्बन्धित समाचार

ताजा समाचार