काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपाललाई १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ घाटा भएको छ । भन्सार विभागका अनुसार दश महिनाको अवधिमा नेपालले कुल १६ खर्ब ९२ अर्ब ९ करोड ९३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएकाे छ।
आयात–निर्यात दुवै बढ्दा पनि गत आवको दश महिनाको तुलनामा व्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यस अवधिमा नेपालले १४ खर्ब २९ अर्ब ५३ करोड रूपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा ११ खर्ब ७७ अर्ब १८ करोड ब्यापार घाटा भएको थियो ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।
विभागका अनुसार १० महिनामा आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.११ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपालबाट १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि हुन पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

