बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुन सक्ने सम्भावना रहेकोले मौसमविद्हरूले नेपालमा यसको गम्भीर असर पर्ने चेतावनी दिएका छन्। मौसम विज्ञान विभागका अनुसार, यस प्रणालीका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार यस विषम मौसमका कारण धान भित्र्याउने बेला भएका किसानहरूलाई ठूलो नोक्सानी हुन सक्ने जोखिम छ। यसलाई मध्यनजर गर्दै मौसमविद् तथा विज्ञहरूले किसानहरूलाई धान काट्ने तथा थन्काउने काम तत्कालका लागि स्थगित गर्न अनुरोध गरेका छन्।
त्यसैगरी, मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणलाई पछिल्लो केही दिनका लागि ट्रेकिङ र लामो दूरीको यात्रा नगर्न सचेत गराइएको छ। लगातारको वर्षाका कारण पहाडी तथा हिमाली भेगका सडकहरूमा पहिरो जान सक्ने जोखिम उच्च रहेको छ।
विशेष गरी पृथ्वी राजमार्ग र बिपी राजमार्ग लगायत अन्य मुख्य पहाडी मार्गहरूमा यात्रा गर्दा उच्च सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासन तथा मौसमविद्हरूले जोड दिएका छन्।

