विरगञ्ज नाकाबाट १ खर्ब ९१ अर्ब ८८ करोडकाे पेट्रोलियम पदार्थ आयात

गत आर्थिक वर्ष २०८१/८२ मा ६ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरीएकाेमा १ खर्ब एक अर्ब ८४ करोडकाे निर्यात गरीएकाे छ ।

spot_img

काठमाडाैँ । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब ९१ अर्ब ८८ करोडको पेट्रोलियम पदार्थ आयात गरिएको छ । जुन याे नाकाबाट सबैभन्दा बढी आयात भएकाे हाे ।

दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल ५७ अर्ब ६८ करोडको रहेको छ ।

यसैगरी, मेसिनरी तथा तिनका पार्टपुर्जा ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । ३४ अर्ब ४१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका छन् । त्यस्तै,  २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

गत आर्थिक वर्षमा ६ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ५ दशमलव १४ प्रतिशत अर्थात् ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आर्थिक वर्षमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । ‘गत आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ,’ उनले भने, ‘अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुन सक्छ ।

गत आर्थिक वर्षमा आयात मात्रै नभएर निर्यात पनि बढेकाे छ । अघिल्लाे आर्थिक वर्षमा यो नाका हुँदै ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरीएकाेमा गत आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । जुन अघिल्लाे आर्थिक वर्षको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

गत आर्थिक वर्षमा ६१ अर्ब ४५ करोड मूल्यकाे प्रशोधित भटमासको तेल निर्यात गरीएकाे छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो । जबकि अघिल्लो आर्थिक वर्षमा ९ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षमा ९ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

यस्तै, गत आर्थिक वर्षमा सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।

गत आर्थिक वर्षमा ५ अर्ब ३७ करोड मूल्य पर्ने ४ करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५९ करोड मूल्य पर्ने ५ करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार