भिसालाई उछिन्दै विश्वकै नम्बर १ डिजिटल भुक्तानी प्रणाली बन्यो भारतको यूपीआई

spot_img

काठमाडौं । भारतको यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) विश्वकै अग्रणी रियल–टाइम डिजिटल भुक्तानी प्रणाली बन्न सफल भएको छ। दैनिक कारोबारको संख्याका आधारमा यूपीआईले विश्वप्रसिद्ध कार्ड सेवा प्रदायक भिसालाई समेत उछिनेको हो ।

भारत सरकारको नागरिक संलग्नता प्लेटफर्म ‘माईगभइण्डिया’ले आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) ह्यान्डलमार्फत “यूपीआई अब विश्वको नम्बर १ रियल–टाइम पेमेंट प्रणाली बनेको जानकारी दिएको हो ।

यसले भारतका ८५ प्रतिशत डिजिटल कारोबार सम्भव बनाएको छ र विश्वका लगभग ५० प्रतिशत डिजिटल भुक्तानीहरूमा योगदान दिइरहेको उल्लेख गरेको छ ।

यूपीआईको दैनिकी ६५ करोड कारोबार

हाल सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, यूपीआईबाट दैनिक ६५ करोडभन्दा बढी कारोबारहरू सम्पन्न भइरहेका छन्, जुन भिसाको दैनिक ६३९ मिलियन कारोबारभन्दा धेरै हो ।

यूपीआई हाल ७ मुलुकहरूमा मात्र औपचारिक रूपमा सञ्चालनमा छ, तर विश्वभरको डिजिटल भुक्तानीको झण्डै ५० प्रतिशत हिस्सा यसले ओगटेको छ। जबकि भिसा विश्वका २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको छ। यसले यूपीआईको प्रभाव विश्वव्यापी रूपमा फैलँदै गएको स्पष्ट संकेत दिएको छ ।

भारतमै ८५ प्रतिशत डिजिटल कारोबार यूपीआईबाटै

यूपीआईको सफलताको सबैभन्दा ठूलो श्रेय भारतभित्रको तीव्र स्वीकार्यताले पाएको हो। गुवाहाटी प्लस न्यूजका अनुसार, भारतमा हुने कुल डिजिटल कारोबारमध्ये ८५ प्रतिशत भन्दा बढी यूपीआई प्रणालीमार्फत हुन्छ। यसले क्युआर कोड, मोबाइल नम्बर वा भीपीए प्रयोग गरेर सेकेन्डभरमै पैसा एक बैंकबाट अर्कोमा पठाउन सकिन्छ।

यूपीआईको सुरुवात सन् २०१६ मा भारतको नेश्नल पेमेन्ट कर्पाेरेशन अफ इन्डिया (एनपिसिआइ) ले गरेको थियो। मोबाइलमै सहज रूपमा इन्टरबैंक भुक्तानी गर्न सकिने यो प्लेटफर्म हाल मासिक १८ अर्बभन्दा बढी कारोबारहरू प्रक्रिया गर्दै आइरहेको छ।

भारतमा खुद्रा डिजिटल भुक्तानी प्रणालीमा यसको दबदबा झनै बलियो बन्दै गएको छ, र विश्वका अन्य देशहरू पनि यस प्रणालीलाई अपनाउने दिशामा अघि बढिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार