काठमाडौँ । अर्बपति व्यापारी तथा टेस्लाका मालिक एलन मस्क ट्रम्प प्रशासनबाट बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सरकारको कर्मचारीका रूपमा आफ्नो समय सकिएको उल्लेख गरेका छन् ।
उनले १३० दिनपछि प्रशाशजबाट बाहिरिदै गर्दा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीमा जिम्मेवारी दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।
ट्रम्पले ३० मे २०२५ सम्मका लागि मस्कलाई यो विभागमा नियुक्त गरेको बताइएको छ । कार्यकाल सकिन १ दिन बाँकी हुँदा मस्कले राजीनामा दिएकाे बताइएकाे छ । सरकारको फजुल खर्च कम गर्ने उदेश्यका साथ मस्कलाई ट्रम्प प्रशाशनमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीको जिम्मेवारी दिइएकाे थियाे ।
गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन मस्कले सबैभन्दा बढी भूमिका खेलेका बताइने गरिन्छ । मस्कले गत वर्ष भएको निर्वाचनमा ट्रम्पलाई जिताउन २७७ मिलियन डलर खर्च गरेका थिए ।
ट्रम्प सरकारबाट अलग हुनुभन्दा एक दिनअघि सीबीएसलाई दिएको अन्तर्वार्तामा मस्कले आफूले राजनीतिमा जति गर्नु थियो गरेको भन्दै अब चन्दा नदिने बताएका थिए । वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्तामा उनले संघीय कर्मचारीतन्त्र सोचेको भन्दा बढी खराब रहेको टिप्पणी गरेका छन् ।
केही मिडिया रिपोर्टअनुसार अब सरकारी भूमिकाबाट हटेर उनी फेरि टेस्ला र स्पेस एक्सजस्ता आफ्ना कम्पनीमा ध्यान दिने योजनामा छन् ।

