संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (WHO) सँगको आफ्नो ७८ वर्ष लामो आबद्धतालाई पूर्ण रूपमा अन्त्य गर्दै औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन (जनवरी २०, २०२५) मा हस्ताक्षर गरेको कार्यकारी आदेशको एक वर्षको सूचना अवधि पूरा भएसँगै हिजो (बिहीबार) देखि यो निर्णय कार्यान्वयनमा आएको हो।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र विदेश मन्त्रालयले एक संयुक्त विज्ञप्ति जारी गर्दै अबदेखि अमेरिका डब्लुएचओको सदस्य नरहेको पुष्टि गरेका छन्।
ट्रम्प प्रशासनले डब्लुएचओले कोभिड–१९ महामारीको समयमा प्रभावकारी भूमिका खेल्न नसकेको, चीनको राजनीतिक प्रभावमा परेको र आवश्यक सुधार गर्न असफल भएको आरोप लगाउँदै यो कदम चालेको हो।
अमेरिकाले संगठनमा हुने आफ्नो सबै आर्थिक सहयोग बन्द गरेको छ भने जेनेभास्थित मुख्यालय र विश्वभरका कार्यालयहरूबाट आफ्ना कर्मचारी तथा विशेषज्ञहरूलाई फिर्ता बोलाइसकेको छ।

