हर्मुज स्ट्रेटमा भारतीय जहाजमाथि इरानी सेनाद्वारा गोलाबारी, नयाँ दिल्लीद्वारा राजदूतसँग जवाफ माग

spot_img

काठमाडौं । स्ट्रेट अफ हर्मुज पार गर्दै गरेका दुईवटा भारतीय झन्डाबाहक व्यापारिक जहाजहरूमाथि इरानी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजिसी) ले गोलाबारी गरेको छ। इराकबाट कच्चा तेल बोकेर भारततर्फ आउँदै गरेको ‘सनमार हेराल्ड’ र साउदी अरबको अल जुबैल बन्दरगाहबाट आउँदै गरेको ‘जग अर्नब’ नामका जहाजलाई निशाना बनाइएको हो। समुद्री निगरानी निकायका अनुसार आईआरजिसीका गनबोटहरूले बिना पूर्वसूचना गोली प्रहार गरेका थिए भने एउटा जहाजमा अज्ञात ‘प्रोजेक्टाइल’ लागेर क्षति पुगेको छ। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

आफ्ना व्यापारिक जहाजमाथि पहिलो पटक यसरी आक्रमण भएपछि भारतले गम्भीर चिन्ता व्यक्त गर्दै कूटनीतिक पहल तीव्र पारेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले नयाँ दिल्लीस्थित इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर घटनाप्रति कडा आपत्ति जनाएका छन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले समुद्री सुरक्षालाई उच्च प्राथमिकता दिने स्पष्ट पार्दै इरानलाई भारतीय जहाजहरूको सुरक्षित आवागमन तत्काल सुनिश्चित गर्न आग्रह गरिएको छ। जवाफमा इरानी राजदूतले भारतको चासो तेहरानसम्म पुर्‍याउने आश्वासन दिएका छन्।

घटनाका क्रममा आईआरजिसी नौसेनाले रेडियो सन्देशमार्फत भारतीय जहाजहरूलाई मार्ग परिवर्तन गर्न निर्देशन दिएको र उनीहरूलाई पछि हट्न बाध्य बनाएको विवरणहरू सार्वजनिक भएका छन्। गोलाबारीपछि दुवै जहाजले लारक टापु पार गरेर आफ्नो मार्ग परिवर्तन गरेका थिए। इरानका सर्वोच्च नेताका प्रतिनिधि डा. अब्दुल मजीद हकिम इलाहीले भारत र इरानबीचको सम्बन्ध बलियो रहेको उल्लेख गर्दै आफूहरू युद्ध नभई शान्ति चाहेको र समस्या समाधान हुने अपेक्षा व्यक्त गरेका छन्। यस क्षेत्रमा अझै १३ वटा भारतीय जहाजहरू फारसको खाडीमै रहेकाले सुरक्षा संवेदनशीलता बढेको छ।

यो तनाव अमेरिका र इरानबीच जारी विवाद र सम्भावित युद्धविराम प्रयासको पृष्ठभूमिमा उत्पन्न भएको हो। इरानले अमेरिकी नाकाबन्दीलाई युद्धविरामको उल्लंघन मान्दै हर्मुज स्ट्रेटमा आफ्नो पूर्ण नियन्त्रण रहने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए फेरि आक्रमण सुरु गर्ने चेतावनी दिइरहेका बेला इरानले भने जहाजहरूलाई आफूले तोकेको मार्गबाट मात्रै हिँड्न दिने अडान राखेको छ। शुक्रबारदेखि अस्थायी रूपमा खुला गरिएको हर्मुजमा इरानले पुनः नियन्त्रण कडा पारेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय समुद्री व्यापारमा जोखिम बढेको देखिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार