काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् ।
अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेकाे प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीसले सहमति जनाएका हुन् ।
मंगलबार प्रधानमन्त्री ओली, सभापति देउवा, गभर्नर सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा गभर्नर नियुक्तिलगायत विषयमा कुराकानी भएको थियो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
यसपछि संयोजक पौडेलले गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन् भने आजै साँझ मन्त्रिपरिषद बैठक पनि बस्दैछ ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने भएपनि राजनितिक भागवण्डाका कारण नियुक्तमा ढिलाइ भएकाे हाे ।
यसअघि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरेका थिए ।
विश्व पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए ।
पौडैल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार, योजना आयोगको उपाध्यक्ष र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को समेत आर्थिक सल्लाहकार भइसकेका छन् ।

