काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी’को सुरुवात गरेको छ ।
नेपाल लाइफले आफ्नो पूर्ण स्वामित्वमा पाँच अर्ब रुपैयाँको लगानीमा नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेको हो । बिमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले सहायक कम्पनिकाे सुरूवात गरेको जनाएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई र नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले संयुक्त रूपमा कम्पनीको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष संघईले नेपाल लाइफले २५औँ वर्ष प्रवेश गर्दै गर्दा सर्वाधिक विश्वासिलो र करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए । कम्पनीले प्रत्येक परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न जीवन बिमाको माध्यमबाट महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उनले उच्च प्रतिफल प्रदान गर्न तथा बजारका चुनौतीलाई न्यूनीकरण गर्न इन्भेस्टमेन्ट कम्पनी स्थापना गरिएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले उक्त प्रयासलाई बिमा क्षेत्रको दीर्घकालीन सुदृढीकरणका लागि महत्वपूर्ण कदम भएको बताए । ‘मिहिनेत, पसिना बगाएर वा व्यापार–व्यवसायमार्फत कमाइएको जनताको पैसा अन्ततः बिमा कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘त्यसैले यो केवल आम्दानी होइन, जिम्मेवारी पनि हो।’
त्यस्तै, सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवालले कम्पनीले हालसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको जीवन बिमा कोष निर्माण गरिसकेको बताए ।

