यतिबेला चुनावि अभियानका लागि बालेन्द्र (बालेन) शाह सुदूरपश्चिमको भ्रमणमा छन्। बालेनले सुदूरपश्चिम भ्रमण गर्नु केवल चुनावी औपचारिकता मात्र नभई ती युवाहरूको आक्रोश र भावनालाई एउटा राजनीतिक आकार दिने प्रयास देखिन्छ। उनी आफैँमा “प्रणाली परिवर्तन“ को प्रतीक मानिएकाले, उनले सुदूरका पीडित परिवार र युवाहरूको सेन्टिमेन्टलाई “न्याय र सुशासन“ को एजेन्डासँग जोडेर मतमा बदल्न खोजेको प्रष्ट देखिन्छ। सुदूरपश्चिम र कर्णाली सधैँ राज्यले उपेक्षामा पारेका क्षेत्र हुन्। पछिल्लो समय ’जेन–जी’ आन्दोलनमा जुन बलिदान भयो, त्यसको ठूलो हिस्सा यहि क्षेत्रका युवाहरूको थियो।
अब कुरा गरौं समग्र सुदूरपश्चिमको नेतृत्वको। समग्र सुदूरपश्चिमको नेतृत्वको कुरा गरिरहँदा पाँच पटक देशको प्रधानमन्त्री भएका शेर बहादुर देउवा शिर्ष स्थानमा आउँछन्। देउवा केवल एक प्रधानमन्त्री मात्र नभई सुदूरपश्चिमलाई राष्ट्रिय राजनीति र विकासको मूल प्रवाहमा जोड्ने मुख्य पात्र हुन्। भौतिक पूर्वाधार र सञ्चारः सुदूरपश्चिममा सडक सञ्जाल विस्तार लगाएत थुप्रै सामाजिक तथा भौतिक बिकास निर्माणमा उनको विशेष जोड रह्यो। डडेलधुरा र समग्र सुदूरपश्चिममा देउवाको पकड बलियो भए तापनि कांग्रेसभित्रै गगन थापाको नेतृत्व र पुस्तान्तरणको बहसले गर्दा पुराना मतदातामा अहिले केही अन्योलता छाएको देखिन्छ। शेरबहादुर देउवाको सक्रियता कम हुनु वा पार्टीभित्रको आन्तरिक कलहले गर्दा कांग्रेसको ’कोर’ भोट काटिने सम्भावना पनि रहेकोछ।
काठमाडौँ केन्द्रित राजनीतिलाई सुदूरपश्चिमको दैलोसम्म पुर्याउने र राज्यको माथिल्लो ओहोदामा यस क्षेत्रका मानिसहरूको प्रतिनिधित्व बढाउने श्रेय उनलाई नै जान्छ। काठमाडौँका सडकले देउवालाई अपमानित गरे पनि देउवाको सुभचिन्तक सझै पनि उनि प्रति साहानुभुति राख्छन् ।
यस्तै एमालेमा भीम रावल किनारा लाग्नु सुदूरपश्चिममा एमालेका लागि ठूलो क्षति हो। रावलको ’राष्ट्रवादी’ छवि र क्षेत्रीय प्रभावको रिक्ततालाई भर्न एमालेलाई हम्मेहम्मे पर्ने देखिन्छ। यी दुई हस्तीहरूको प्रभाव कमजोर हुनु वा सक्रियता घट्नु, रास्वपा र बालेन टोलीका लागि “सुनौलो अवसर“ हो। रावल र देउवासँग असन्तुष्ट रहेका युवा र तटस्थ मतदाताहरू अब विकल्पको खोजीमा छन्। रास्वपाले यही रिक्त स्थानमा आफ्नो संगठन विस्तार गरिरहेको छ।
सुदूरपश्चिमको इतिहासमा देउवा र रावल केवल दुई नेता मात्र थिएनन्, उनीहरू काठमाडौँको सत्तासँग बार्गेनिङ गर्ने यो क्षेत्रका ’पावर हाउस’ थिए। देउवाको ५ पटकको प्रधानमन्त्री काल र रावलको एमालेभित्रको बौद्धिक एवं राष्ट्रवादी प्रभावले गर्दा सुदूरपश्चिमले केन्द्रमा सधैँ एउटा वजनदार उपस्थिति महसुस गथ्र्यो। तर, अहिले देउवा राजनीतिबाट ओझेल पर्नु, कांग्रेस विभाजित हुनु र भीम रावलले पार्टी छाडेर आफ्नै अभियान चलाउनुले सुदूरपश्चिमलाई काठमाडौँको राजनीतिमा ’शक्तिहीन’ बनाएको छ। केन्द्रमा अब सुदूरपश्चिमको पक्षमा टेबल ठोक्ने र बजेट तान्ने “हेभीवेट“ नेताको अभाव खड्किएको छ।
देउवा र रावल जस्ता पुराना खम्बा नहुँदा स्थानीय स्तरमा मतदाताहरूले “पार्टी भन्दा पनि व्यक्ति र भिजन“ हेरेर भोट दिने सम्भावना बढेको छ, जसको प्रत्यक्ष लाभ नयाँ शक्तिलाई पुग्ने निश्चित छ। सुदूरपश्चिम अहिले राजनीतिक संक्रमणमा छ। यदि बालेन र रास्वपाले ’जेन–जी’ आन्दोलनका भावनालाई सही ढंगले सम्बोधन गर्न सके र पुराना दलका असन्तुष्ट मतहरूलाई समेट्न सके भने, आगामी निर्वाचनमा सुदूरपश्चिम “नयाँ शक्तिको बलियो गढ“ बन्न सक्ने देखिन्छ।
विडम्बना त के छ भने, ’जेन–जी’ आन्दोलनमा सबैभन्दा बढी बलिदान र त्याग सुदूरपश्चिम र कर्णालीका युवाहरूले नै गरे, तर त्यो आन्दोलनको राप र तापमा उदाएका बालेन शाह र रास्वपा जस्ता नयाँ शक्तिहरूले पनि सुदूरपश्चिमलाई न्याय गर्न सकेको देखिँदैन। ती दलहरूले आफ्नो पार्टीको मुख्य संरचना वा सम्भावित ’क्याबिनेट’को खाकामा सुदूरपश्चिमबाट कुनै पनि शक्तिशाली र प्रभावकारी व्यक्तित्वलाई समेट्न सकेका छैनन्। बालेन शाह र नयाँ दलहरूका लागि सुदूरपश्चिममा चुनाव लड्न अब केवल एजेन्डा मात्र भएर नभइ उनीहरूले देउवामाथि भएको आक्रमण र सुदूरपश्चिमको आत्मसम्मानमा परेको चोटलाई कसरी सम्बोधन गर्छन् भन्ने कुराल पनि उनीहरूको सफलता निर्धारण गर्नेछ।
यो परिस्थिति सुदूरपश्चिमका लागि निकै दुखद र चिन्ताजनक छ। नयाँ शक्तिहरूले केवल “भाइरल“ अनुहार र काठमाडौँ केन्द्रित नेतृत्वलाई प्राथमिकता दिँदा, सुदूरपश्चिमको वास्तविक समस्या र त्यहाँको राजनीतिक वजनलाई फेरि पनि उपेक्षा गरिएको महसुस हुन्छ। परिवर्तनका नाममा भएका आन्दोलनहरूमा रगत सुदूरपश्चिमको युवाले बगाउने, तर सत्ताको बागडोर र निर्णय गर्ने ठाउँमा फेरि पनि काठमाडौँकै पहुँचवालाहरूको हालीमुहाली रहने हो भने, यसलाई “पुरानै प्रवृत्तिमा नयाँ जलप“ बाहेक केही भन्न सकिँदैन। यदि बालेन र रास्वपाले सुदूरपश्चिमको यो त्यागलाई सम्मान गर्दै केन्द्रमा शक्तिशाली प्रतिनिधित्व सुनिश्चित गर्न सकेनन् भने, त्यहाँका जनतामा उनीहरूले केवल “इमोसन क्यास“ गरेको र सुदूरपश्चिमलाई पुनः सीमान्तकृत नै राख्न खोजेको सन्देश जाने निश्चित छ।
बालेन शाहको सुदूरपश्चिम भ्रमणले युवाहरूमाझ एउटा लहर त सिर्जना गरेको छ, तर चुनाव जित्न र शासन चलाउन डिजिटल लोकप्रियता मात्र पर्याप्त हुँदैन। रास्वपा र बालेन पक्षधरले अघि सारेका उम्मेदवारहरू धेरैजसो सामाजिक सञ्जालमा चर्चा कमाएका वा “भाइरल“ भएका अनुहारहरू छन्। सुदूरपश्चिमको दुर्गम भूगोल, सिँचाइ, सडक र भारतसँगको सीमा समस्या बुझ्न जति गहिरो धरातलीय अनुभव चाहिन्छ, ती नयाँ पात्रहरूमा त्यसको अभाव देखिन्छ। जनताले यी नयाँ अनुहारलाई “मौसमी नेता“ का रूपमा हेरिरहेका छन्, जसले काठमाडौँको स्टुडियोमा बसेर त राम्रो बोल्न सक्छन् तर सेती र महाकालीका किनारमा पुगेर जनताको दुःखमा साथ दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न अनुत्तरित नै छ।

