डोटी: सुदूरपश्चिमको प्रख्यात धार्मिक धाम तथा पर्यटकीय गन्तव्य बडीमालिकामा गरिने विशेष पूजाका लागि डोटीबाट सदियौँदेखि निरन्तर पठाइँदै आएको परम्परागत ‘पेटारो’ (पूजा सामग्री) को तयारी अन्तिम चरणमा पुगेको छ। भदौको दोस्रो साता पर्ने बडीमालिका मेलाको तयारीसँगै यस वर्ष पनि साउन २८ गते डोटीबाट १५ दिने पैदल तीर्थयात्रा सुरु हुँदै छ।
ऐतिहासिक पृष्ठभूमि र पेटारोको महत्त्व
बडीमालिकामा पठाइने ‘पेटारो’ केवल पूजा सामग्री मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र धार्मिक आस्थाको प्रतीक हो। शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टका अनुसार, विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडा (हालको जिल्ला प्रशासन कार्यालय) बाट बडीमालिकामा पेटारो पठाउने परम्परा सुरु भएको हो।
पेटारो तयार पार्ने विधि निकै रोचक छ। श्रावण औँसीको अघिल्लो दिन दीपायलस्थित दिल्पेश्वर मन्दिर परिसरको रोपाईबाट ल्याइएको ‘भुरुणी’ (धानको बीउबाट बनेको फूल) सँगै जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले पूजा सामग्री तयार गर्छन्। यसमा चाँदीको काइयो, छत्र, सुनको जलप लगाइएका गहना, चाँदीको बाँसुरी र विशेष शृङ्गारका सामग्री समावेश हुन्छन्। यो धार्मिक यात्रा र ब्यवस्थापनको लागि विगतमा गृह मन्त्रालयबाटै बजेट आउने गरे पनि पछिल्ला दिनहरुमा भने यसको व्यवस्थापन शैलेश्वरी मन्दिर व्यवस्थापन समिति र स्थानीय तहहरूले गर्दै आएका छन्।

१५ दिनको कठिन तर आस्थापूर्ण यात्रा
डोटीको सरकारी पूजा टोलीको यात्रा पूर्ण रूपमा पैदल हुन्छ।
- सुरुवात: साउन २८ गते सिलगढीमा विशेष पूजा र सलामीपछि टोली यात्रामा निस्कन्छ।
- प्रथम चरण: टोली पहिलो दिन फुलौट (खिरसैन) र दोस्रो दिन काँडामाण्डौँ पुग्छ, जहाँ अखण्ड दीप प्रज्वलित मालिका मन्दिरमा बास बस्छ।
- अछाम र बाजुराको बाटो: टोलीले अछामको श्रीकोटस्थित जाल्पादेवी, वैद्यनाथ धाम र विमकोटे राजाको दरबारमा पूजा गर्दछ। यात्राको छैटौँ दिन टोली बाजुराको छतारास्थित लवाडुङ्ग्रा पुग्छ, जहाँ ३ दिन बास बस्ने परम्परा छ।
- त्रिवेणी धाम र मिलन: यात्राको बाह्रौँ दिनमा टोली त्रिवेणी धाम पुग्छ। यहाँ डोटीको सरकारी टोली र जुम्लाको चन्दननाथ मन्दिरबाट ल्याइएको डोलीबीच ऐतिहासिक भेट हुन्छ।
- मुख्य पूजा र फिर्ती: चतुर्दशीका दिन बडीमालिकामा डोटीको टोलीद्वारा पहिलो सरकारी पूजा गरिन्छ। त्यसपछि टोली नाटेश्वरी मन्दिर (बाजुरा) पुग्छ। जनैपूर्णिमाका दिन नाटेश्वरीमा पूजा सम्पन्न गरेपछि मात्र टोली सवारीसाधन प्रयोग गरी शिलगढी फर्किन्छ।
व्यवस्थापन र जनसहभागिता
पूजा टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पुजारीहरूको उपस्थितिमा हुन्छ। टोलीको खर्च व्यवस्थापन प्रत्येक वर्ष डोटीका स्थानीय तहहरूले पालैपालो गर्दै आएका छन्। यस वर्षको खर्च व्यवस्थापनको जिम्मेवारी बोगटान–फुड्सिल गाउँपालिकाले लिएको छ।
स्थानीय पर्यटन व्यवसायी र पुजारीहरूका अनुसार, गाडीको सुविधा भए पनि सदियौँदेखिको यो पैदल परम्परालाई जोगाइराख्नु नै सुदूरपश्चिमको मौलिक संस्कृति र इतिहासप्रतिको सम्मान हो। यो यात्रा केवल धार्मिक अनुष्ठान मात्र नभएर राज्य स्तरकै महत्त्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा स्थापित छ।

