भेदभावको मौन पाठशाला: हाम्रो आफ्नै घर

spot_img

आज म एउटा प्रश्नबाट सुरु गर्न चाहन्छु।

यदि तपाईं पुरुष हुनुहुन्छ भने, के तपाईंलाई कहिल्यै सानै उमेरदेखि तपाईंका आमा–बुबाले “छोरा मान्छे भएर के गर्नुपर्छ, के गर्नु हुँदैन” भनेर विस्तारमा सिकाउनुभएको छ? आठ–नौ वर्षको उमेरदेखि कसरी बस्ने, कसरी बोल्ने, के लगाउने, कहिले बाहिर निस्कने वा ननिस्कने जस्ता नियमहरू सुनाउनुभएको छ?

सायद धेरैको उत्तर “त्यस्तो भएन” भन्ने नै हुनेछ।

तर यही प्रश्न यदि कुनै महिलालाई सोधियो भने, उत्तर प्रायः “सानैदेखि सिकाइयो” भन्ने आउँछ। किनकि धेरैजसो छोरीहरूले सानै उमेरदेखि नै यस्ता कुरा सुन्दै हुर्किन्छन्— के लगाउने, के नलगाउने, कसरी बस्ने, कसरी हाँस्ने, कति बेला बाहिर जाने। यति मात्र होइन, घरको काममा रुचि नहुँदा पनि रुचि देखाउन सिकाइन्छ।

अब यदि तपाईं कसैका आमा–बुबा हुनुहुन्छ भने, म अर्को प्रश्न सोध्न चाहन्छु। जब छोरीलाई “छोटो कपडा लगाउन हुँदैन, केटाहरूसँग धेरै घुलमिल गर्न हुँदैन” भनेर बुझाउन तपाईंलाई असहज लाग्दैन भने, त्यही खुलापनका साथ छोरालाई “महिलाको सम्मान गर्नुपर्छ, गलत नजरले हेर्नु हुँदैन” भनेर सिकाउन किन असहज लाग्छ?

यही नै भेदभाव हो।

यो भेदभावले समाजमा यस्तो वातावरण बनाउँछ जहाँ छोरीलाई नियन्त्रण गर्ने कुरा सामान्य हुन्छ, तर छोरालाई आवश्यक शिक्षा दिन छुटिन्छ। त्यसैले जब कुनै पुरुषले महिलालाई गलत नजरले हेर्छ, समाजले उसको व्यवहारमाथि प्रश्न उठाउँदैन। बरु महिलाको कपडामाथि प्रश्न उठ्छ। महिला घरबाट किन बाहिर निस्किन् भन्ने कुरा उठ्छ। तर पुरुषको पालनपोषण र संस्कारमाथि कहिल्यै प्रश्न उठ्दैन।

यही मानसिकताले पुरुषभित्र एउटा अदृश्य श्रेष्ठताको भावना पनि जन्माउँछ— जहाँ उसलाई लाग्न थाल्छ कि महिला उसभन्दा कमजोर, नियन्त्रण गर्न मिल्ने वा उसकै लागि बनेको व्यक्ति हो। यस्तो सोचले समाजमा महिलामाथि हुने हिंसालाई सामान्य बनाउँदै लैजान्छ।

त्यसैले जब जबरजस्तीकरण वा बलात्कारका घटनाहरू बढिरहेका छन्, त्यसलाई केवल अपराधी व्यक्तिको समस्या भनेर मात्र हेर्न मिल्दैन— यो हाम्रो घर, हाम्रो पालनपोषण र हाम्रो सामाजिक सोचसँग पनि गहिरो रूपमा जोडिएको विषय हो।

यदि तपाईं ती आमाबुबामध्ये हुनुहुन्छ जसले छोरीलाई मात्र नियन्त्रण गरेर हुर्काउनुहुन्छ र छोरालाई कुनै जिम्मेवारी सिकाउनुहुन्न भने, म दुःखका साथ भन्न चाहन्छु— त्यो राम्रो अभिभावकत्व होइन। त्यहाँ पालनपोषण र संस्कारमा गम्भीर कमी छ।

हामी प्रायः गर्वका साथ भन्छौं— “मेरी छोरी त धेरै समझदार छ।” तर के हामीले कहिल्यै सोचेका छौं, त्यो समझदारी वास्तवमै उसको स्वभाव हो कि समाज र परिवारले उसमाथि राखेका अनगिन्ती दबाबहरूको परिणाम? सानै उमेरदेखि छोरीहरूले धेरै अपेक्षा, नियम र लाञ्छना पार गर्दै अघि बढ्नुपर्छ। त्यसैले उनीहरू उमेरभन्दा अघि नै “सम्झदार” बन्न बाध्य हुन्छन्।

मैले पनि आफ्नै जीवनमा यस्तो अनुभव गरेकी छु। मेरो परीक्षा चलिरहेको थियो। त्यही समयमा कसैले मलाई भने— “तिमी त आफ्नो दाइभन्दा छिटो पकाउन सक्छौ, पकाउन के ठूलो कुरा हो र!” मैले उहाँको उमेरको सम्मान गर्दै केही भनेनँ। तर मनभित्र एउटा प्रश्न उठिरह्यो— के मेरो महत्त्वपूर्ण काम छोडेर यो सबै गर्नु नै मेरो कर्तव्य हो?

यहाँ विचार गर्नुपर्ने कुरा के हो भने, मेरो दाइ उमेरमा मभन्दा ठूलो हुनुहुन्छ— यो तथ्यले उहाँले खाना पकाउने काम मभन्दा छिटो गर्नुहुन्छ भन्ने अर्थ लाग्छ। त्यसो भए किन त्यो व्यक्तिले मलाई यसो भन्नुभयो त? कारण स्पष्ट छ— किनकि यस्तो काम “छोरी” को हो भन्ने मानसिकता अझै गहिरो रूपमा समाजमा जरा गाडेर बसेको छ।

यस्ता साना देखिने कुराहरूले पनि महिलाको स्थान समाजमा सधैं घटाइरहेका हुन्छन्।

समाजमा महिलाको दर्जा यस्तो छ कि छिमेकमा मान्छे आएर घरमा आरामसँग बसिरहेकी एउटा महिलालाई “काम गर, अल्छी नबन” भनेर सल्लाह दिन्छन्— जबकि ती छिमेकीको उसको जीवनमा कुनै भूमिका हुँदैन। त्यसैगरी आफन्तले पनि सहजैसँग महिलालाई काम लाइदिने र भएभर को कुरा सुनाइदिने कुरा हामीले सधैं नै देखेका छौं। यो किन हुन्छ भने उनीहरूलाई पनि थाहा छ— समाजमा महिलाको जुन स्तर छ, त्यसले गर्दा उनका आमाबुबाले पनि उनीहरूका निम्ति बोल्दैनन् भनेर। र यस्ता साना–साना उपेक्षाहरूले बाहिरका मान्छेले पनि आएर अनावश्यक तनाव दिने गर्छन्।

मलाई कुर्ता लगाउँदा सुन्दर देखिएको जस्तो लाग्छ। तर जुन तरिकाले मलाई कुर्ता लगाउन “सिकाइयो”, त्यसले गर्दा कहिलेकाहीँ मलाई कुर्ताभन्दा प्यान्ट वा फ्रकमा बढी आत्मविश्वास महसुस हुन्छ। किनकि पहिरन कहिलेकाहीँ केवल सौन्दर्यको विषय हुँदैन— त्यो नियन्त्रणको माध्यम पनि बन्न पुग्छ। यस्ता साना–साना दबाबहरूले महिलालाई आफ्नो जीवन पूर्ण रूपमा स्वतन्त्र भएर बाँच्न दिँदैनन्।

महिलामाथिको यो दमन केवल बाहिरी पुरुषबाट मात्र आउँदैन। दुखद कुरा के हो भने, महिलामाथिको दमन देखिने गरी महिलाले नै गरेको पनि हुन्छ— हाम्री हजुरआमा, आमा, काकी, जसले आफूले जे सहे त्यसलाई पुस्तापछि पुस्ता परम्परा बनाएर हस्तान्तरण गरिदिए। “छोरी मान्छेको नियति नै यस्तै हो” भन्दै। तर जुन कुरा उनीहरूले बुझ्न सकेनन् वा बुझ्न चाहेनन् भने— हाम्रो नियति हामीले आफैंले बनाएका होइनौं, यो हाम्रो दबिएको आवाजले बनाएको हो। यस्तो कुरामा प्रश्न गर्दा “समाजको विपरित गएको” भन्दै लाञ्छना लगाइन्छ।

केही समयअघि सामाजिक सञ्जालमा “रतेउली” को धेरै चर्चा भयो। कतिपयले त्यसलाई रमाइलो र संस्कार भनेर बचाउ गरे। तर जब भीडले एउटै व्यक्तिलाई केन्द्रमा राखेर सामूहिक रूपमा मजाक गर्छ, त्यो केवल रमाइलो मात्र हुँदैन— त्यो अपमानको रूप लिन सक्छ।

हाम्रो समाजको अर्को विडम्बना पनि छ। जब कसैले आफ्नो इच्छाले विवाह गर्छ, अन्तरजातीय सम्बन्ध बनाउँछ वा व्यक्तिगत निर्णय लिन्छ, त्यसबेला समाजमा आलोचना र टिप्पणी गर्ने मानिसहरूको भीड लाग्छ। तर महिलामाथि हुने हिंसा, जबरजस्तीकरण र असमानताको विषयमा त्यति चर्चा हुँदैन। यसले स्पष्ट देखाउँछ— हाम्रो समाज अझै पनि धेरै गहिरो रूपमा समस्याग्रस्त छ।

केही दिन अघि म कञ्चनपुरमा आफ्नो गाउँ गएकी थिएँ। सानैदेखि काठमाडौंमा हुर्किएकी मलाई गाउँ जाने कुराले भित्रभित्रै तनाव दिएको थियो— किनकि गाउँमा महिलालाई हेर्ने नजर र मूल्याङ्कन गर्ने तरिका मलाई मन पर्दैन। उसको क्षमता के छ, उसको भोगाइ, बुझाइ, प्रश्न गर्ने सिप वा बौद्धिकताले कहिल्यै हुँदैन— हुन्छ भने उसले पाहुनालाई कसरी आदर गर्छिन्, र जो आइगए आएर जे भनिदिँदा पनि हाँसिलो अनुहार लिएर सहन्छिन् भन्ने कुराले हुन्छ। त्यहाँ मैले के देखेँ भने हरेक परिवार त्यहाँ आए, र ती मध्ये धेरैजसो परिवारका पुरुषहरू कुर्सीमा बसेर गफ गरे, तर तिनै परिवारका महिलाहरू भान्सा हेर्ने, पाहुना हेर्ने काममा खटिरहे। यसबाट पनि देख्न सकिन्छ कि महिलाको जीवन थोरै कामको आधारमा मात्र मूल्याङ्कन भएको छ। र ती महिलाहरूले “एउटा छोरीको भाग्य नै यही हो” भन्ने कुरा बुझे, बुझाए, नबुझ्न चाहेकालाई दबाब दिए। यहाँबाट के सिक्न सकिन्छ भने हरेक संस्कारमा महिलाको आफ्नो त्याग र समर्पण हुन्छ, र त्यसैले मात्र संस्कृति जोगिएको छ।

तर एउटा तथ्य बिर्सन हुँदैन— हरेक संस्कृति र परम्परा आजसम्म टिकेको छ भने त्यसको श्रेय महिलाको त्याग र समर्पणलाई जान्छ। वास्तवमा यो समाजले महिलालाई धन्यवाद दिनुपर्ने हो— किनकि यदि महिलाले एक दिन “अब म आफ्नै लागि बाँच्छु” भन्ने निर्णय गरिन् भने, यो “महान् संस्कृति” र “पवित्र परम्परा” को भार बोक्ने अर्को कोही छैन। फेरि यसो भन्दा कति पाए दाजुभाइले “हामीले त जनै लगाउँछौं” भन्ने गर्नुभएको छ— जुन अलि हाँसो लाग्दो विषय हो, किनकि यो कुरा जसले भोगेको छैन र महसुस गरेकै छैन, उसलाई यस्ता कुरा भन्नुको अर्थ पनि छ जस्तो मलाई लाग्दैन।

महिनावारी सम्बन्धी एउटा छलफलमा मैले एउटा कुरा उठाएँ— महिनावारीलाई एकदम ठूलो रूप दिएर कुरीतिझैँ मानेर अगाडि बढाउनु हुँदैन। जवाफ आयो— “मानेको नै ठिक हो, चार दिन आराम हुन्छ।” यस्तो जवाफले मलाई सोच्न बाध्य बनायो— एउटा महिलालाई आफ्नो शरीरले साथ नदिँदा पनि आराम गर्ने स्वतन्त्रता हुँदैन र कुरीतिको पछि लुक्नुपर्छ। परिवर्तन एकैचोटि आउँदैन, यो म बुझ्छु। तर प्रयास नगरिएसम्म कहिल्यै आउँदैन भन्ने पनि म जान्दछु।

अंग्रेजीमा “Bandwagon Effect” भन्ने एउटा अवधारणा छ— जब कुनै लहर आउँछ, मानिसहरू सोच्नुभन्दा पहिले नै त्यसमा बग्छन्। महिला अधिकारको लहर सुरु भयो, समाजमा महिलामाथिको हिंसाविरुद्ध आवाज उठ्यो, र यसले हरेक परिवारलाई आउने पुस्तालाई शिक्षा र दिक्षा दिन दबाब बनायो। तर के यो शिक्षा र दिक्षा महिलाले पूर्ण रूपमा उपयोग गर्न पाए? पढेलेखेर दुनियाँको कुरा बुझ्दै जाँदा समाजमा भएका साना–साना भेदभावलाई घर र समाजसँग प्रश्न गर्ने अधिकार— के महिलासँग त्यो अधिकार छ? केही प्रश्न गर्दा जवाफ नहुँदा ठूलाबडाले पनि “बढी मुख लागेको” भनेर दबाइदिने, र चलिआएको कुरा चलाउँदा नै ठिक हुन्छ भनी शान्त पारिएको अनुभव त म लगायत हरेक महिलाले गरेकै होला।

म पनि अहिले पढिरहेकी नै छु— तर मेरो पढाइको उपयोग मैले गर्न सकेको महसुस हुँदैन। किनकि पढाइको आधारमा मैले गर्नुपर्ने काम भनेको म के गर्दैछु, केही गर्दैछु भने किन गर्दैछु, यसको पछाडिको कारण के हो भनेर सोध्न पाउनु हो— तर सोध्नैमा “मुख लागेको” भनेर दबाउनुले मेरो भित्रको हिम्मत पनि टुटिसकेको महसुस हुन्छ।

रातमा महिला हिँड्न सुरक्षित हुँदैन भने, जसले गर्दा असुरक्षित हुन्छ उसलाई किन घरमा राखिँदैन? जवाफ आउँछ— आफ्नो मान्छे सबैलाई प्यारो हुन्छ, अरूलाई नियन्त्रण गर्न सकिँदैन। तर आफू के गर्छौं, यो भने नियन्त्रण गर्न सकिन्छ। मेरो पनि त यही भनाइ हो— अरूले के गर्छन् आफ्नो हातमा हुँदैन, तर जो व्यक्ति साना–साना कुरामा यस्ता भेदभावलाई प्रोत्साहन दिन्छ, आमाबुबाले छोरीहरूलाई सहन सिकाउनुभन्दा त्यस्ता मानिसलाई जवाफ दिँदा कस्तो हुन्थ्यो?

यो पुस्तागत पीडा नतोड्नमा महिलाको पनि ठूलो भूमिका देख्छु। आफूले जो दुख पाए त्यो कुरा आउने पुस्तामा नपुगोस् भनेर सोच्नुको सट्टा “मैले त पाएँ, यसले पनि पाओस्” भनी दबाब हालेको जस्तो देखिन्छ र महसुस पनि हुन्छ— किनकि धेरै परम्परा त मैले आफ्नै सुविधाअनुसार मानिसहरूले तोडमोड गरेको पनि देखेकी नै छु।

यस सन्दर्भमा अर्को कुरा पनि उल्लेख गर्नु जरुरी छ। प्रायः ठूलाबडाहरू छोरीहरूलाई “हामीले संसार धेरै देखेका छौं, तिमीले के बुझ्छौ” भनेर नियन्त्रण गर्ने गर्छन्। तर दुखद कुरा के हो भने, उनीहरूले देखेको “संसार” भनेको पुरानो धार्मिक ग्रन्थका ती पंक्तिहरू मात्र हुन् जहाँ लेखिएको छ— लोग्नेको आज्ञा नमान्ने श्रीमती अलच्छिनी हो, दुष्टा हो, र श्रीमतीको धर्म नै लोग्नेको सेवा गर्नु हो। यही “संसार” हेरेर उनीहरूले आफूलाई अनुभवी ठान्छन्, र यही सोचलाई आउने पुस्तामाथि थोपर्न खोज्छन्। साँच्चै हाँसो लाग्दो कुरा के हो भने— यति साँघुरो दायरामा सीमित भएर पनि उनीहरूले “हामीले संसार धेरै देखेका छौं” भन्ने दाबी गर्छन्।

आज सामाजिक सञ्जाल हेर्दै जाँदा मैले एउटा पोस्ट देखेँ— जहाँ इनिशा बीकेसँग भएको घटनाको जिम्मेवार इनिशा बीके नै हुन्, परिवारलाई झुट बोलेर किन केटासँग गइन् भनेर उनको संस्कारमाथि औँला उठाइयो। तर एउटा महिला भएको नजरले मैले जबरजस्ती गर्ने  पुरुषको संस्कारमा खोट देखेँ। यसरी नै यस्ता कुरा बोल्दा मलाई धेरैले समर्थन गर्छन्— तर नराम्रो र नरम्यैलो वास्तविकता के हो भने, पुरुषसत्तालाई बढावा दिने पनि ती व्यक्ति नै हुन्छन्।

यो लेख्दै जाँदा मलाई साह्रै अपराधबोध महसुस भयो— सानो कुराको लागि धेरै बोलेको जस्तो अपराधबोध, सबैसँग मुख लागेको अपराधबोध, र समाजविरुद्ध उठेको अपराधबोध। तर यस्तो अपराधबोध म आफैंले ल्याएको होइन— यो समाजले महिलालाई सानो कुरामा आफ्नै लागि गर्दा अपराधबोध महसुस गराउने र अझ दबाउने तरिका हो, जुन म अब बुझ्दैछु र यो अपराधबोधलाई पन्छाउँदैछु।

म पनि यही समाजमा हुर्किएकी एक महिला हुँ। यदि तपाईंहरूलाई “मान्छे भएर के गर्नुपर्छ, के गर्नु हुँदैन” भन्ने कुनै उपदेश छ भने कृपया दिनुहोस्। तर “छोरी मान्छे भएर के गर्नुपर्छ, के गर्नु हुँदैन” भन्ने उपदेश भने मलाई नदिनुहोस्। किनकि त्यो म धेरै अगाडि नै सिकिसकेकी छु।

मैले सरस्वतीबाट ज्ञान आर्जन गर्न सिकेकी छु, लक्ष्मीबाट आत्मनिर्भर बन्न सिकेकी छु, र कालीबाट अन्यायविरुद्ध बोल्न र लड्न सिकेकी छु।

अक्सर भनिन्छ— “आजकालका केटीहरूले केही सहँदैनन्।” तर प्रश्न उठ्छ— सहनु नै किन पर्ने? पहिले महिलामाथि अन्याय भएको थियो, कानुन थिएन, अधिकार थिएन भनेर सधैं त्यही अन्याय बोकेर हिँड्नुपर्ने हो? हो, म आजको पुस्ताकी केटी हुँ, २०६०/६१ सालतिर जन्मिएकी। मैले २०१६ सालको सोच र परम्पराको बोझ बोकेर हिँड्नुपर्ने आवश्यकता महसुस गर्दिनँ।

मलाई पनि धेरैपटक भनियो— “छोरी मान्छे भएर धेरै बोल्नु राम्रो होइन।” तर अब म एक कदम अघि बढ्दैछु। मेरो जीवनको सिमाना म आफैंले कोर्छु। अब कसैले मलाई यस्तो वाक्यले चुप गराउन सक्दैन। आजदेखि म यो पुस्तौँदेखि चल्दै आएको शृङ्खला तोड्ने प्रयास गर्दैछु— दृढ भएर उभिँदै, अन्यायविरुद्ध आवाज उठाउँदै।

“बेटी पढाओ, बेटी बचाओ” मात्र होइन— अब “बेटा र बुढापाका पढाओ, बेटी बचाओ” भन्नुपर्ने समय आएको छ। किनकि जबसम्म छोराहरू र समाजका बुढापाकाहरूलाई पनि समानता, सम्मान र जिम्मेवारीको शिक्षा दिइँदैन, तबसम्म छोरीलाई मात्र सिकाएर समाज बदलिँदैन।

यदि यो पढ्दा तपाईंलाई असहज महसुस भएको छ भने— सायद त्यही असहजताले एउटा महत्त्वपूर्ण प्रश्न उठाइरहेको छ। समयमै आफैंलाई जाँच्नुहोस्, चेतिनुहोस्, र आवश्यक परे आफैंलाई बदल्नुहोस्। आफ्ना छोरीलाई मात्र नियन्त्रण गरेर होइन— आफ्ना छोरालाई पनि कसरी जिम्मेवार, संवेदनशील र सम्मान गर्न जान्ने गतिलो मानिस बन्ने भन्ने शिक्षा र उपदेश दिनुहोस्।

निर्मला पन्त न्याय खोज्दै गइन्, इनिशा बीके न्याय खोज्दै गइन् — अर्को नाम कसको हुनेछ? त्यो उत्तर तपाईंको घरको भान्साकोठामा होइन, तपाईंले छोरालाई दिने संस्कारमा लुकेको छ।

— कृतिका पाण्डेय, विद्यार्थी, काठमाडौं विश्वविद्यालय

सम्बन्धित समाचार

ताजा समाचार