२०७२ सालमा नेपालमा ठूलो भूकम्प गयो । त्यस लगत्तै भारतले अघोषित नाकाबन्दि गर्यो । प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा केपी शर्मा ओलीले भारतको नामै उल्लेख गरेर दक्षिणी छिमेकीको, उनकै शब्दमा, अघोषित नाकाबन्दीको आलोचना गरे । उनले छिमेकी देशले डेढ महिनायता सीमा क्षेत्रमा जारी अवरोधले भूकम्पद्वारा सिर्जित नोक्सानीभन्दा बढी क्षति गराएको र इन्धन तथा औषधिको अभावले धेरैलाई जोखिममा धकेलेको बताए । भारतले अझै नाकाबन्दि गरे यसले दुई देशबिचको सम्बन्ध झनै बिग्रने र भारतसामू नेपाल नझुक्ने अडान लिए । जसकारण ओलीको ख्याती एकाएक चुलीयो ।
यस्तै, उनले ख्याती कमाएको अर्को घटना हो, चुच्चे नक्सा अर्थात लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ नक्सा ।
२०७७ साल जेठमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो । ओलीको यस कदमले भारतलाई निकै चिढ्याएको कुटनितिज्ञहरुले बताए । तर, नेपाल र नेपालीका बिच ओलीको यस कदमको निकै नै प्रशंशा भयो ।
ओलीले प्रधानमन्त्रि रहदा उनले दिएको निडर र अडिग अभिव्यक्तिको सबैले खुलेरै प्रशंशा गरे । उनको अभिव्यक्ति पश्चात सामाजिक संजालमा उनलाई राष्ट्रवादीको ट्याग समेत दिए । उनका प्रशंशक निकै बढे ।
तर पछिल्लो समय ओली आफ्नै बोलीका कारण प्रशंशक गुमाइरहेका छन् । उनका अभिव्यक्तिहरु ट्रोल बनिरहेका छन् ।
निडर र प्रखर वक्ताका रुपमा चिनिने ओलीलाई अहिले धेरैजसोले हासोका पात्रका रुपमा लिइरहेका छन् । उनलाई कतिले त कमेडियन राजतितिज्ञ समेत भन्न थालेका छन् । ओलीका समाचारको कमेन्ट बक्सले समेत त्यहि देखाउँछ ।
सामाजिक संजालमा मात्रै नभएर राजतिनिक क्षेत्रमा समेत उनी बेला–बेलामा आफ्नो बोल्ने शैली र अभिव्यक्तिका कारण विवाद र ट्रोल बनिरहेका छन् ।
धेरैजसोलाई उनका विवादास्पद अभिव्यक्तिले उनको पदको मर्यादा नै बिर्सेको भान भैरहेको छ ।
उनी कहिले अयोध्या नेपालमा पर्छ भनेर टिप्पणी गर्छन त कहिले राम नेपालमै जन्मेका हुन भनेर टिप्पणी गर्छन । उनले फैजावादलाई अयोध्या भनेको झुटो भएको र रामको जन्म नेपालको चितवनस्थित ठोरीको अयोध्यामा भएको दाबी गरे । यसले उनकै पार्टीभित्र समेत तरङ्ग उत्पन्न गरिदिएयो ।
उनले भनेका थिए, ‘आज भन्दा चार हजार वर्ष अगाडि रामको जन्म भएको थियो । रामको जन्म यही अयोध्यापुरीमा भएको थियो ।’
उनले हरेक निर्वाचनमा र पहिलोपटक प्रधानमन्त्री बन्दा ग्यासका पाइप घरघरमा ल्याउने, नेपालमा रेल गुडाउने त कहिले पानी जहाज चलाउने जस्ता अभिव्यक्ति दिए । जसका कारण उनी अझैसम्म ट्रोल बनरिहेका छन् । पोहोरको दशैताका आएको पानीले काठमाडौ जलमग्न हुदा ओलीको पानीजहाजको ट्रोल निकै धेरै भयो ।
त्यस्तै, उनले ‘खालि ठाउँमा मरिचको रुख रोपौ, ठूलै रुख हुन्छ मरिचको,’ भनेको कुराको पनि उनको निकै नै ट्रोल भयो ।
यी त केहि प्रतिनिधि कुरा मात्र हुन् ।
२०७६ जेठ ६ गते प्रधानमन्त्री ओलीले प्रदेश भनेको कुनै स्वतन्त्र निकाय नभइ केन्द्रकै एउटा युनिट भएको बताए ।
उनले भनेका थिए, ‘प्रदेश सरकारहरुलाई अलिअलि केके लाग्छ भने, हामी स्वतन्त्र राष्ट्रका सार्वभौम सरकार हौं। हामीलाई किन नियन्त्रण ग¥या होला जस्तो पनि अलिअलि लाग्छ। त्यसकारण यो भएन, त्यो भएन भनेर छटपटाएको पनि देखिन्छ। यो परिपाटी बस्दै जान्छ। नेपाल एउटा राष्ट्र हो, एउटा देश, एउटा सरकार, नेपाल सरकार, त्यसका विभिन्न अंग, अवयवहरु छन्। निकायहरु छन्। सात वटा प्रदेश छन्। त्यहाँ प्रदेश सरकार छन्। ७ सय ५३ वटा स्थानीय तह छन्। त्यहाँ स्थानीय तहका सरकार छन्। तर ती सबै नेपाल सरकारका विभिन्न इकाइहरु हुन्।’
यसैगरी संघियताकै बारेमा उनले ‘बाख्राको टाउकोमा भैसीको सिङ’ जस्तो संघीयता मुलुकले धान्न नसक्ने भन्दै धानिएन भने फेरि ‘विचार गर्ने’ बताए ।
उनको यस अभिव्यक्तिमा नेताहरु मौन बसे पनि उनको निकै नै आलोचना भयो ।
ओलीका अभिव्यक्ति विवादास्पद भएकाे अर्काे समय हाे, काेराेना महामारी । विश्वभर कोरोना महामारी फैलीरहदा विश्व नै त्रसित भएकाे अवस्थामा ओलीका अभिव्यक्ति निकै नै विवादास्पद भए । उनका अभिव्यक्तिलाई गैरजिम्मेवार र भ्रमपूर्ण भएकाे टिकाटिप्पणी गरे ।
उनले कोरोनाभाइरस रुघाखोकीजस्तो हो । लागिहाल्यो भने हाच्छिउँसाच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ भने ।
जुन कुरालाई लिएर चिकित्सकहरुले खण्डन समेत गरे ।
त्यस्तै, कोरोना महामारीकै समयमा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओमार्फत् छलफल गर्ने क्रममा तातो पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरी तह पग्लिएर भाइरस समाप्त हुन सक्ने दाबी समेत गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘..जहाँ भाइरस छ भने पनि तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ ।’
यस विषयमा समेत चिकित्सकहरुले जिम्मेवार पदमा बस्ने व्यक्तिका कुरा मान्छेले मान्छन् र ती कुरालाई पछ्याउँछन् । त्यसैले त्यस्ता व्यक्तिले हल्का टिप्पणी गर्नु नहुने टिप्पणी गरे ।
त्यस्तै राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री ओलीले रक्तअल्पता र जन्डिस भएका बिरामी गर्भवती र सुत्केरी महिला र आइरन र ब्लडको कमी छ भने बेसार खानु हुँदैन भन्ने अभिव्यक्ति दिए ।
उनको यो अभिव्यक्तिपछि वीर अस्पतालका प्रा. डा. सुधांशु केसीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ’गलत सूचना’ भन्दै ट्वीट गरे ।
कोरोनाभाइरसको महामारीको बेला प्रधानमन्त्रीको पदमा बसेर हल्का र आफ्नो विज्ञता नभएको विषयमा टिप्पणी गरेको भन्दै उनको आलोचना भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता यसका बारेमा दिएका सुझावहरूलाई लिएर सामाजिक सञ्जालमा निकै धेरै टिकाटिप्पणीहरू भए ।
यस्तै, संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वल्र्ड लिडर्स फोरम नामक अन्तक्र्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ भनेपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो । उनको चौतर्फि आलोचना भयो ।
२०८२ जेठ १५ गते काठमाडौँमा राजावादीहरूले प्रदर्शन गर्ने भनेपछि एमालेका नेता–कार्यकर्तालाई काठमाडौँ कब्जा गर्ने भनी उनले दिएको आदेशको एमालेभित्रै पनि आलोचना भएको थियो ।
त्यस्तै, २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका उनले सम्बोधनका क्रममा भारत र पाकिस्तानबीच झण्डै हात हालाहालको अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका थिए । जसको निकै नै ट्रोल भयो ।
यसैगरी नेपाल बुद्धिजीवी परिषद्को महाधिवेशन प्रधानमन्त्री ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पथले मारकाट गरेर एकताबद्ध हुने कुरा मात्र सिकाउने बताए । यसका साथै उनले पृथ्वीनारायण शाहलाई पृथ्वी राजमार्गसँग जोडेर ‘पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि’ भनी व्यङ्ग्यसमेत गर । उनले ‘पृथ्वीनारायण शाहले संविधान भन्ने शब्द सुनेका थिए?’ भनी प्रश्नसमेत गरे । उनको यस अभिव्यक्तिको समेत चौतर्फि आलोचना भयो भने राजावादीहरुले यस्तो खालको टिप्पणी फिर्ता लिन आग्रह समेत गरे ।
यस्तै, ओलीले गत चैत १८ गते एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति नेपाल मगर संघले आपत्ति जनायो । पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेकोले बाकाबीरको बिषयमा तथ्य पेश गर्न संघले चुनौती दियो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ३ हजार करोड रुपैयाँ अध्यक्ष ओलीले कम्बोडियामा राखेको भनेर अभिव्यक्ति दिए । यसको प्रतिक्रियामा ओलीले ‘कम्बोडियामा ३ हजार करोड रुपैयाँ मैले राखेको रहेछु भने धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु’, भने ।
ओलीका अभिव्यक्तिकाे सामाजिक संजालमा मात्र नभएर राजनितिक वृत्तमा समेत टिकाटिप्पणि हुने गरेको छ । केहि समयअघि एक सार्वजनिक कार्यक्रममा ओलीले आफू एमालेको झोले रहेको भन्ने अभिव्यक्ति दिए । त्यसलगत्तै दलका कट्टर समर्थकहरूलाई व्यङ्ग्य गर्न सामाजिक सञ्जालमा प्रयोग गरिने शब्द ’झोले’ को समर्थनमा अभियान नै शुरु गरीयो । तर पार्टीका नेता कार्यकर्ताको यो अभियानमाथि ट्रोल गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘म झोले होइन’ भन्ने अभियान चलाए । उनकाे यस अभियानकाे पार्टभित्रै समेत निकै आलाेचना भयाे ।
ओलीका यस्ता खालका टिप्पणीले उनलाई हल्का रुपमा लिन थालिएको छ । यसले देशको प्रधानमन्त्रि जस्तो पदको गाम्भिर्यतामा प्रश्न खडा हुन्छ । अनि भोलिका दिनमा प्रधानमन्त्रिले गम्भिरताका साथ भनेका कुरालाई जनताले हल्कामा ल्याउँदा त्यसले देशमा संकट निम्त्याउन सक्छ ।
देशको प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले कुनै विषयवस्तुमा हलुका टिप्पणी गर्नु देशकै दुर्भाग्य हो । यदि उनले जानि जानि नै यस्ता अभिव्यक्ति दिएका हुन भने चाहि उनी पदिय जिम्मेवारी र मर्यादाका लागि अयोग्य व्यक्ति हुन् भन्न फरक नपर्ला ।

