काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले हालसम्म ११ महिनामा ८५ हजार भिसा रद्द गरेको छ। अमेरिकी राज्य विभागका अनुसार जनवरीदेखि विभिन्न श्रेणीमा परेका सबै भिसा सहित ८५,००० भिसा खारेज गरिएका छन्, जुन संख्या गत वर्षको तुलनामा दोब्बर बढी हो।
रद्द गरिएका भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थी भिसा परेका छन्। भिसा खारेजीमा आएको यो तीव्र वृद्धि अमेरिका भित्र रहेका आप्रवासीहरूलाई कडा निगरानीमा राख्ने तथा देश प्रवेशका मापदण्डहरू झनै कडा बनाउने ट्रम्प प्रशासनको व्यापक नीति परिवर्तनसँग प्रत्यक्ष रूपमा जोडिएको बताइन्छ।
राज्य विभागका अनुसार मापसे गरी गाडी चलाउने, कुटपिट, चोरीजस्ता अपराधहरूले गत वर्षका करिब आधा भिसा रद्द हुन कारण बनेका छन्। बाँकी भिसा भने भिसा अवधि सकिनु, वा आतंकवादलाई समर्थन गरेको आशंकाका कारण खारेज गरिएकाे उल्लेख गरिएको छ।
यसअघि नै अमेरिका सरकारले वैध अमेरिकी भिसा भएका ५५ लाखभन्दा बढी विदेशी नागरिकलाई लक्षित गर्दै “निरन्तर छानबिन” (continuous vetting) लागू गर्ने तयारी गरेको थियो। यस प्रणालीले भिसाधारकहरूको गतिविधि, अभिलेख, अनलाइन उपस्थितिसमेत निरन्तर रूपमा अनुगमन गरिनेछ।
ट्रम्पको दोस्रो कार्यकालसँगै राज्य विभागले भिसा छानबिनका मापदण्डहरू झनै कडा बनाएको छ। नयाँ नियमले एच–वान बी (H-1B) जस्ता उच्च दक्ष श्रमिकका भिसामा उन्नत छानबिन लागू गरेको छ। यसअन्तर्गत कन्टेन्ट मोडरेसन, फ्याक्ट–चेकिङ जस्ता क्षेत्रमा काम गर्नेहरू पनि कडा छानबिनको दायरामा परेका छन् र भिसा अस्वीकार हुन सक्ने व्यवस्था राखिएको छ।
यसअघि अमेरिकाले १९ देशका नागरिकका लागि यात्रा प्रतिबन्ध लगाइसकेको छ। यस्तै, अमेरिकाभित्र भइरहेका इमिग्रेशन आवेदन, ग्रीन कार्ड प्रक्रिया तथा नागरिकता प्राप्ति प्रक्रिया पनि ठूलो मात्रामा रोकिएको छ, जसले आप्रवासी समुदायमा थप अनिश्चितता बढाएको छ।

