अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले मंगलबार १९ गैर–युरोपेली देशका आप्रवासीहरूका सबै इमिग्रेशन आवेदन, ग्रीन कार्ड तथा नागरिकता प्राप्त प्रक्रिया अस्थायी रूपमा रोकिएको घोषणा गरेको छ। प्रशासनले राष्ट्रिय सुरक्षामा बढ्दो जोखिमका कारण यस्तो कदम चालिएको जनाएको छ।
यी १९ देशहरू त्यही हुन्, जसका नागरिकहरूलाई यसअघि जुन महिनादेखि आंशिक यात्रा प्रतिबन्ध लागु गरिएको थियो। नयाँ निर्णयसँगै ती देशका नागरिकहरू अमेरिकामा आवतजावतमा अझ कडा प्रतिबन्धमा पर्ने भएको छ । ट्रम्प प्रशासनको कडा इमिग्रेशन नीति राष्ट्रपति ट्रम्पको राजनीतिक एजेन्डाको प्रमुख हिस्सा मानिन्छ। यी देशहरूको सूचीमा अफगानिस्तान र सोमालिया पनि परेका छन्।
नयाँ नीतिको आधार बनेको सरकारी ज्ञापनपत्रमा गत हप्ता वासिङ्टनमा भएको नेशनल गार्डमाथिको आक्रमणलाई प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। उक्त घटनामा एक अफगान नागरिकलाई पक्राउ गरिएको छ। गोली प्रहारमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने एक जनाको अवस्था गम्भीर बनेको थियो।
नेशनल गार्डमाथिको आक्रमणपछि ट्रम्प प्रशासनले एकपछि अर्को कडा कदम घोषणा गर्न थालेको छ, जसले कानुनी आव्रजनमाथि पनि थप संकुचन हुने देखिएको छ। प्रशासनले यी नीतिहरूलाई राष्ट्रिय सुरक्षासँग जोडेर पूर्व राष्ट्रपति जो बाइडेनका नीतिहरूलाई दोष दिने प्रयास गरेको छ।
बुधबार सार्वजनिक गरिएको सूचीमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन जस्ता ती देशहरू छन्, जसमा जुन महिनामा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको थियो, केही अपवाद बाहेक प्रवेश पूर्णरूपमा रोकिएको थियो। बाँकी देशहरू—बुरुन्डी, क्युबा, लाओस, सियेरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला—थोरै खुकुलो प्रतिबन्धमा परेका थिए।
नयाँ नीतिअनुसार यी देशका आप्रवासीहरूले दिइसकेका सबै आवेदन रोकिइनेछ र पुनः विस्तृत छानबिन अनिवार्य हुनेछ। आवश्यक परे पुनः अन्तर्वार्ता समेत लिन सकिने उल्लेख गरिएको छ, जसको उद्देश्य “राष्ट्रिय सुरक्षा तथा सार्वजनिक सुरक्षामा पर्ने सम्भावित जोखिमको पूर्ण मूल्यांकन” गर्नु रहेको छ।
अमेरिकन इमिग्रेशन लअयर्स एसोसिएसन (AILA) की सरकारी सम्बन्ध निर्देशक शरवरी दलाल ढेनीले उक्त निर्णयपछि केही अमेरिकी नागरिकता शपथ समारोह, नैचुरलाइजेशन अन्तर्वार्ता तथा स्टेटस परिवर्तनका अन्तर्वार्ता रद्द गरिएकोबारे संघलाई जानकारी प्राप्त भएको बताएकी छन्।

