काठमाडौँ । चलचित्र ‘महाभोज’को नयाँ प्रदर्शन मिति ताेकिएकाे छ । जेठ १५ गतेबाट रिलिज मित सरेकाे चलचित्र जेठ ३० गतेबाट प्रदर्शन हुनेछ ।
नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भने, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको महाभोज केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुनेछौं ।’
जेठ १३ गते चलचित्रले काठमाडौंमा राखेकाे विशेष ‘प्रिम्यू शो’ मा फिल्मकर्मीका साथै ५० बढी सहकारी पीडितहरूको उपस्थिति रहेको थियो । चलचित्र हेरीसकेपछि सहकारी ठगी प्रकरणको कथामा आधारित भएर बनेको फिल्म यथार्थपरक रहेको प्रतिक्रिया सहकारी पीडितहरूले दिएका थिए । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म व्यावसायिक रूपमा सफल हुने दाबी गरेका थिए ।
विकास सुवेदीको लेखन रहेको फिल्मले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव का कुरा समेटेकाे छ ।
यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतको अभिनय छ ।

