केही दिनयता सामाजिक सञ्जालमा प्राइभेट मेसेज र च्याटका स्क्रिनसटहरू भाइरल भएपछि विवादमा तानिएका चर्चित गायक सुजन चापागाईँले आफ्नो मौनता तोड्दै स्पष्टीकरण दिएका छन्। हाल साङ्गीतिक भ्रमणका सिलसिलामा अष्ट्रेलियामा रहेका गायक चापागाईँले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै सोसियल मिडियामा आएका तथ्यहरू प्रति आफू अत्यन्त चिन्तित र दुःखी भएको बताएका छन्।
उनले विगतमा आफ्ना नजिकका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य भएको स्वीकार गर्दै त्यसबाट सिर्जित दुःखद परिस्थितिका लागि अन्तरहृदयदेखि माफी मागेका छन्। यद्यपि, अहिले सोसियल मिडियामा भाइरल भइरहेका सबै सामग्रीहरूबारे भने आफू पूर्ण रूपमा अनभिज्ञ रहेको उनले दाबी गरे।
पेज दुरुपयोग र फेक अकाउन्टको संशय आफ्नो बचाउ गर्दै गायक चापागाईँले आफ्नो सामाजिक सञ्जाल आफैँले मात्र व्यवस्थापन गर्न सम्भव नहुने हुनाले विभिन्न समयमा ‘सोसियल मिडिया म्यानेजमेन्ट’ टोलीले यसको व्यवस्थापन गर्ने गरेको उल्लेख गरेका छन्। सोही क्रममा अकाउन्टको दुरुपयोग भएको हुन सक्ने उनको प्राथमिक अनुमान छ। साथै, आफ्नो नाममा थुप्रै फेक अकाउन्टहरू समेत सक्रिय रहेको पाइएकाले यो कसैको अनुत्तरदायी हर्कत हुन सक्ने उनले बताएका छन्।
नेपाल फर्किए लगत्तै कानुनी प्रक्रियामा जाने यस्ता गतिविधि विरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै गायक चापागाईँले आफ्नो अष्ट्रेलियाको साङ्गीतिक यात्रा सकिने बित्तिकै नेपाल फर्किएर कानुनी उपचार खोज्ने दृढता व्यक्त गरेका छन्। उनले आफ्नो बदनियत नहुँदा नहुँदै पनि शुभचिन्तक र दर्शकहरूले बेहोर्नु परेको मानसिक समस्या र अन्योलताका लागि माफी समेत मागेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा आपत्तिजनक च्याटका स्क्रिनसटहरू बाहिरिएपछि उनीमाथि चौतर्फी आलोचना भइरहेको बेला गायकको यो स्पष्टीकरण बाहिर आएको हो।

