काठमाडौं । आज राष्ट्रिय धान दिवस देशैभर रोपाइँ गरी मनाइएको छ ।
२९ मंसिर २०६१ मा मन्त्रीस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।
याे महिनालाई मानो खाएर मुरी उब्जाउने दिनको रूपमा लिइन्छ ।
दही चिउरा खाँदा कामबाट थकित भएका किसानलाई शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । देशैभरीका किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोक गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । धान रोप्ने क्रममा ‘छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता असारे भाकामा गाउने गरिन्छ । साथमा बाजा बजाएर, हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने गर्छन् ।
असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । जसकारण शहरका मानिसहरूसमेत एकपटक हिलाेमा पर्न राेप्न जाने गर्छन ।
यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ भएकाके छैन । कतिपय ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।
तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

