नेपालमै पहिलो पटक जलपर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सेती-कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ प्रतियोगिता’ आज कैलालीको कर्णाली चिसापानीमा पुगेर सकिएको थियो भने बर्दियामा आज एक कार्यक्रमबिच यस प्रतियोगिताको समापन हुँदैछ। मार्च २२ तारिखमा डोटीको दिपायलबाट सुरु भएको यो ऐतिहासिक यात्रा सेती र कर्णाली नदीको बहावसँगै अन्तिम बिन्दुमा आइपुगेको हो।

नेपाल पर्यटन बोर्डको अगुवाइ तथा सुदूरपश्चिम र कर्णाली प्रदेश सरकारको समन्वयमा आयोजित यस प्रतियोगितामा नेपालसहित नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड र भारतका व्यावसायिक एङ्लर (बल्छीबाज) हरूको सहभागिता रहेको थियो।
बाउछोराको विश्वस्तरीय माछा शिकार प्रतियोगितामा सहभागीमध्ये नेदरल्यान्डका नागरिक मेसल डेकरले १ मिटर १७ सेन्टिमिटर लामो सुनौलो महसिर (सट्टो वा सहर माछा) समातेर सबैलाई चकित पारेका छन्। त्यस्तै, प्रतियोगिताकै सबैभन्दा कान्छा १८ वर्षीय सहभागी नोहा डेकर (मेसलका छोरा) ले १ मिटर १३ सेन्टिमिटर लामो माछा समातेका छन्। यो प्रतियोगिता ‘पक्रने र छोड्ने’ (Catch and Release) सिद्धान्तमा आधारित भएकाले समातिएका सबै माछा सुरक्षित रूपमा नदीमै फिर्ता छोडिएको छ।

प्रतियोगिताको प्राविधिक साझेदारका रूपमा रहेको ‘कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर’ ले सहभागी विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। जसअन्तर्गत प्रतियोगितामा सबैभन्दा ठूलो महसिर माछा समात्न सफल हुने एङ्लरलाई ४ हजार ६ सय अमेरिकी डलर नगद पुरस्कारका साथै १५ दिनको निःशुल्क ‘फिसिङ प्याकेज’ प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगिताको अवधिभर सबैभन्दा धेरै सङ्ख्यामा माछा समात्ने प्रतियोगी र सबैभन्दा ठूलो ‘गोन्च’ (बाँध वा मुग्री) माछा समात्ने सहभागीलाई जनही ५० हजार नेपाली रुपैयाँ प्रदान गरिनेछ। नगद पुरस्कारका अतिरिक्त खेलको गरिमा बढाउन योगदान पुऱ्याउने सबैभन्दा जेठो र सबैभन्दा कान्छो एङ्लरलाई समेत विशेष सम्मान र अवार्डद्वारा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। यो पुरस्कार वितरणसँगै नेपालको जलपर्यटन र साहसिक खेलको क्षेत्रमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।

जलपर्यटनमा नयाँ आयाम स्थानीय तहहरूको समन्वय र सहकार्यमा सम्पन्न यस कार्यक्रमले नेपालको साहसिक पर्यटन, विशेषगरी माछा शिकार (एङ्लिङ) लाई विश्व बजारमा चिनाउने विश्वास गरिएको छ। सेती र कर्णाली नदीको संगम स्थलमा आयोजना गरिएको यो प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली प्रदेशको आर्थिक तथा पर्यटकीय विकासमा टेवा पुऱ्याउने आयोजकको अपेक्षा छ।
आज साँझ बर्दियामा आयोजना हुने समापन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा विजेताहरूलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

