काठमाडौँ । एम्स्टर्डमको राइक्स म्युजियममा २ सय वर्ष पुरानो कण्डम राखिएको छ । यो कण्डम भेडाको एपेन्डिक्स (आन्द्राको एक भाग) बाट बनाइएको विश्वास गरिएकाे छ ।
एम्स्टर्डमको राइक्स म्युजियममा आयोजना गरिएको एक प्रदर्शनीमा राखीएकाे उक्त कण्डममा एक नन र तीन जना पादरीको तस्वीर अंकित छ ।
जेलेनले भनिन्, ‘हामी भन्न सक्छौँ, हामीसँग प्रिन्टेड कण्डम भएको एक मात्र कला संग्रहालय हो ।’
जेलेनका अनुसार यो कण्डम प्रदर्शनीमा राखिएको दिनदेखि म्युजियममा भिड लागिरहेको छ ।
१९औँ शताब्दीमा यौन व्यवसाय र यौनिकता (सेक्सुअलिटीं) सम्बन्धी प्रदर्शनीको हिस्सा रहेकाे यो कण्डम अझै पनि राम्रो अवस्थामा देखिन्छ ।
सन् १८३० को याे कण्डमलाई म्युजियमले गत वर्ष लिलामीमार्फत किनेको थियो । राइक्स म्युजियमकी क्युरेटर जोइस जेलेनले र उनकी एक सहकर्मीले मात्र यसकाे बोली लगाएकाे कुरा बीबीसीलाई बताएकी छिन् ।
कण्डम प्राप्त गरेपछि म्युजियमले अल्ट्राभायोलेट प्रकाशमा यसको परीक्षण गर्दा यसको प्रयोग नभएको र निकै राम्रो अवस्थामा रहेका समेत जेलेनले बीबीसीलाई बताइन ।
जेलेनका अनुसार, यो कण्डम फ्रान्सको कुनै विलासी यौन व्यवसायको अड्डाको ‘स्मृति चिह्न’ (स्मरण स्वरुप दिइने वस्तु) हुन सक्छ भन्ने मानिएको छ । यस्ता वस्तुहरू अब केवल दुईवटा मात्र बाँकी रहेको बताइन्छ ।
म्युजियमका अनुसार, यो असामान्य वस्तुले त्यस्तो युगमा यौन स्वास्थ्यका उज्याला र अँध्यारा पाटाहरू देखाउँछ, जब यौन आनन्दको खोजीसँगै अवाञ्छित गर्भ र सिफलिस (यौन रोग) को डर हुन्थ्यो ।
कण्डममा छापिएको चित्रमा एक नन (सिस्टर) खुल्ला पोशाकमा बसिरहेकी देखिन्छिन् । उनी तीन जना पादरीतर्फ इशारा गरिरहेकी छिन् र ती पादरीहरू उनको अगाडि उभिएका छन् । कण्डममा फ्रेन्च भाषामा लेखिएको छ : ‘Voila mon choix’ अर्थात, ‘यो मेरो रोजाइ हो ।’
राइक्स म्युजियमका अनुसार, उनीहरूको प्रिन्ट संकलन कक्षमा ७ लाख ५० हजारभन्दा बढी प्रिन्ट, चित्र र फोटाहरू छन् ।

