काठमाडौँ । राताे मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु हुन्छ । अआषाढ शुक्ल चतुर्थीका दिन राष्ट्र प्रमुखबाट भोटो देखाएर जात्रा विधिवत रुपमा समापन हुनेगर्छ । त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ।
बिहीबार रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याइयाे । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्याइएको थियाे । जावलाखेल पुर्याइएकाे चाैथाे दिनमा भाेटाे देखाउने परम्परा रहिआएकाे छ । साेहि परम्परा अनुसार यस वर्ष आइतबार रातो मच्छिन्द्रनाथको भाेटाे देखाउने अवसरमा काठमाडाैँ उपत्यकाभरी सरकारले सार्वजनिक विदा समेत दिएकाे छ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो (दुई महिना) समय सम्म चल्छ ।
वैशाख शुक्ल प्रतिपदाका दिन बाजागाजासहित सुरु हुने रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट तान्न थालिएको रथ गाःबहालमा लगेर राखिन्छ । त्यसपछि मंगलबजार, सुन्धारा, लगनखेल र इटिटोल, कुमारीपाटी हुँदै जावलाखेलमा लगेर राखिन्छ ।
लगनखेलमा रथको माथिबाट नरिवल गुडाउने चलन रहेको छ। त्यो नरिवल जसले समात्न सक्छ, उसले छोरो पाउँछ भन्ने जनविश्वास रहेको संस्कृतविदहरू बताउँछन् ।
जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइदैछ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ । जात्रा सकिएर बुङमती पुर्याइएको रथ छ महिनासम्म त्यही राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ ।
पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।

