काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा धेरै वर्षा हुने र तापक्रम पनि बढ्ने सम्भावना रहेकाे बताएकाे छ ।
विभागले यस वर्ष जुन अर्थात जेठ/असारमा महिनामा अधिक वर्षा हुने सम्भावना रहेकाे प्रारम्भिक अनुमान छ । त्यस्तै यस वर्ष औसत तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको प्रक्षेपण छ । जुनदेखि सेप्टेम्बर अर्थात जेठ-असाेजसम्म दुवैथरी तापक्रम – अधिकतम र न्यूनतम – सरदरभन्दा धेरै हुने जनाएको छ ।
बङ्गालको खाडीबाट नेपालमा प्रवेश गर्ने मनसुन यो वर्ष औसतभन्दा १३ दिनअगावै अर्थात् जेठ १८ गतेमा मनसुन प्रवेश हुने विभागले हालै जारी गरेको सूचनामा उल्लेख गरेकाे छ । यसपालि मनसुनको अवधि १२२ दिनको हुने र असोज १४ मा मनसुन नेपालबाट बाहिरिने विभागको प्रक्षेपण छ । यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुनको प्रवेश हुने विभागले जनाएकाे छ।
यो वर्ष दशैँको घटस्थापना असोज ६ मा र विजया दशमी असोज १६ मा परेको छ । असोज १४ मा मनसुन नेपालबाट बाहिरिने विभागको प्रक्षेपण हेर्दा यसपालि ‘हिलेदशैँ’ हुने सम्भावना देखिन्छ ।
यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
सामान्यतया मनसुन सक्रिय हुँदा १,५००-१,६०० मिलिमिटर वर्षा मापन गरिन्छ ।
गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो । गत वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा भयो । गत वर्ष असार २३-२४ मा २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्रको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिमिको अति भारी वर्षा रेकर्ड गरिएको थियो भने असाेज १०-१३ को चारदिने अवधिमा भएको भारी वर्षाले काठमाण्डू र वरपरका जिल्लामा व्यापक जनधनको क्षति भएको थियो ।
गत वर्षकाे मनसुनको अवधिभरि भएका बाढीपहिरोका घटनामा परी ४९५ जनाको ज्यान गएको थियो । असाेज १०-१३ को बाढीपहिरोमा मात्रै २५० जनाको ज्यान गएको र ४५ अर्ब रुपैयाँजतिको हानि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्क छ ।
यो वर्ष वर्षाका कारण हुने विपद्ले चार लाख ५७ हजार घरपरिवारका १९ लाख ९७ हजार मानिसलाई प्रभावित पार्न सक्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।

