‘ऊनको स्वीटर’ को भव्य प्रिमियर, कलाकारहरूको बाक्लो उपस्थिती

spot_img

काठमाडौँ । विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म ‘ऊनको स्वीटर’ को काठमाडौंमा भव्य प्रिमियर गरिएको छ ।

कमलपोखरीस्थित बिग मुभिजमा बुधबार बेलुका आयोजित प्रिमियरमा पन्ध्र सय भन्दा बढी अतिथि, फिल्मकर्मी, राजनीतिकर्मी र सञ्चारकर्मीकाे उपस्थिति थियो ।

प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद सोबिता गौतम, विनीता कठायत, असिम शाह, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की उपस्थित थिए ।

कलाकारमा अभिनेता दयाहाङ राई, साैगात मल्ल, आर्यन सिग्देल, महेश त्रिपाठी, अभिनेत्रीहरू केकी अधिकारी, रिमा विश्वकर्मा, अञ्जना बराइली, रेनु योगी, निर्देशक दिनेश रावत, प्रदिप भट्टराई लगायत प्रिमियरमा फिल्म हेर्न हल पुगेका थिए ।

‘ऊनको स्वीटर’ को टिमबाट कलाकारहरू विपिन कार्की, मिरूना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, निर्देशक नवीन चौहान, गितकार हर्क साउँद, गायक सुजन चापागाई, झुमा लिम्बु लगाएत उपस्थित थिए ।

प्रिमियरमा फिल्म हेरेर निस्किँदै गर्दा अधिकांशले ऊनको स्वीटरु उत्कृष्ट र सुन्दर प्रेमकथा भएको प्रतिक्रिया दिए ।

उपसभामुख राना मगरले चलचित्रले प्रेमको गहिरो भाव प्रस्तुत गरेको भन्दै प्रशंसा गरिन् । “मन जितेर मात्र प्रेम हुन्छ भन्ने कुरा चलचित्रले सुन्दर तरिकाले देखाएको छ,” उनले भनिन् । अभिनेता दयाहाङ राईले चलचित्रलाई ‘गजबको कृति’ भन्दै सबै पक्ष उत्कृष्ट रहेको प्रतिक्रिया दिए । सांसद शोबिता गौतमले चलचित्रको दृश्य, सामाजिक प्रसङ्ग र कथावस्तुलाई मनमोहक बताइन् । अभिनेत्री केकी अधिकारीले ‘ऊनको स्वीटर’ आफूले हेरेका उत्कृष्ट प्रेमकथामध्ये एक भएको उल्लेख गर्दै निर्देशक नवीन चौहानको कामप्रति विशेष प्रशंसा गरिन् ।

प्राप्त प्रतिक्रियालाई लिएर निर्माण टिमले उत्साहित रहेकाे बतायाे । म्यूजिक भिडीकाे निर्देशकबाट फिल्म निर्देशकमा डेब्यु गरेका निर्देशक नवीन चौहानले आफूलाई आएका आत्मीय प्रतिक्रियाहरू शब्दमा व्यक्त गर्न गाह्रो रहेको बताए ।

यो फिल्ममा सुजन चापागाईं र झुमा लिम्बुको संगीत निर्देशनमा बनेका गीतहरूले चर्चा पाइरहेका छन् । सार्वजनिक टिजर र ट्रेलरलाई पनि दर्शकहरूले रूचाएका छन् । म्युजिकल फिल्ममार्फत स्रोतारदर्शकको मन जितेको आर्टमाण्डु नेपाल प्रा.लि. को  ‘ऊनको स्वीटर’ पहिलो फिल्म हो ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरिसकेका छन् । वितरक गोविन्द शाहीका अनुसार फिल्मले देशभर ३०० भन्दा बढी शो प्राप्त गरेको छ ।

याे फिल्म शुक्रबारबाट विश्वभर प्रदर्शन हुदैछ ।

सम्बन्धित समाचार

ताजा समाचार