काठमाडौँ । किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरू भएको छ । सोहि अवसरमा ललितपूरको हात्तिवनमा रहेकाे मांखिममा पूजा गरेर यस वर्षको उभौलीको सुरूवात गरीएको छ ।

तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौली–उधौली चाडलाई किरात समुदायले परापूर्वकालदेखि नै निक्कै महत्त्वका साथ मनाउने गरेका छन् ।
साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने चलन छ ।
किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि परम्परागत भेषभूषामा सजिएर सबै इष्टमित्र साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला सिली नाच्ने गर्दछन् ।

छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गरेकाे पाइन्छ । साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ ।
साकेला उधौली तथा उभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा मान्ने गरेका छन् ।

