काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको परमादेशमार्फतपछि शाक्यले बुधबार कार्यभार सम्हालेका हुन् ।
परमादेशसम्बन्धी निर्णय अनुसार बुधबार बिहान साढे १० बजे शाक्य प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर भएका हुन् । कार्यभार सम्हाल्दै शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग मिलेरै काम गर्ने बताएका छन् ।
आफ्नो कार्यकाल अब साढे ती वर्ष बाँकी रहेको भन्दै उनले यस अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आफ्नो कार्यकालमा जनतालाई दिगो र भरपर्दो विद्युत् उपलब्ध गराउने विषयलाई प्राथमिकता दिने उनले स्पष्ट पारे। उनले भने ‘विगत लामो समय प्राधिकरण आफैले विद्युत् उत्पादन नगर्ने तर कम्पनीहरूमार्फत मात्रै उत्पादन गरियो । अबका दिनमा प्राधिकरण आफैले पनि विद्युत् उत्पादन बढाउँछ ।’
हितेन्द्रदेवलाई हटाउने असोज ५ गतेको निर्णय बदर गर्न र उनलाई कार्यकारी निर्देशकको पदमा काम गर्न दिन सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो।

