काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा प्रवक्ता मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको छेडखानीबारे छानबिन गर्न गठित समितिले सभापति खतिवडालाई पनि जिम्मेवार देखाएकोले प्रतिवेदनमा नाम नलेखिएको बहानामा सभापति खतिवडा उम्किन नमिल्ने बताए ।
‘कुलिङ पिरियडका बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई सोधिन्छ,’ झाले भने, ‘यो नालायकीपनको जवाफ कसले दिने ? यो गैरजिम्मेवारीपनको जवाफ कसले दिने ? नाम लेखिएको छैन भनेर उम्किन मिल्दैन । अहिलेको प्रधानमन्त्री भनेपछि कसलाई सम्झिने ?’, झाले प्रश्न गरे ।

