काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको लोभ, महत्त्वाकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।
शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको बताएकी हुन् ।
‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् , ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
साथर् उनले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेकोले सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेको थियो ।
साथै, उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताइन् ।
‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यले अस्थायी रुपमा प्रभावित तुल्याउन सकिए पनि वास्तविकतालाई समेत छोप्न सकिँदैन,’ उनले भनिन्, ‘छलफल गरिकन विवेकसंगत ढंगबाट निर्णय लिनुपर्छ भन्ने पार्टी र जबजको मर्म पनि यही हो । पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन ।’
उनले अगाडी भनिन, ‘यो पार्टी बनाउन म लगायत हजारौं योद्धा र सदस्यले रगत पसिना लगाएको छ । यो कुरा म कुनै भावनामा बगेर गरिरहेको छैन ।’

