काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिकमा हुने रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार आवेदन आह्वान गरेको छ ।
रास्वपाले ७ साउनदेखि २१ साउनसम्म (दुई साता) आवेदन दिन सक्नेगरी आह्वान गरेकाे हाे । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट निवेदन दिन सक्नेछन् ।
उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ । २५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ ।
रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ ।
उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ ।
रुपन्देही- ३ मा आगामी १७ कत्तिकमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे छ ।
राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

