काठमाडौं । प्रधानमन्त्रीले के पी शर्मा ओलीले भगवान राम, शिव, विश्वामित्र र कौशिक ऋषि नेपालमै जन्मेको दाबी गरेका छन् ।
नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्याएका हुन् ।
उनले भने, राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो के थिएन । ‘ अहिले त्यो भूभाग नेपालमा पर्छ ।’ उनले थपे ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो । यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’
उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं ?’
उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको दाबी गर्दै अगाडी थपे, ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण !’ उनले थपे, ‘कोशीको किनारमा बस्ने भएकोले उनको नाम कौशिक राखिएको हो।’
यसकाे साथै उनले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको र हलेसी भएको क्षेत्र चाम्लिङको थलो रहेको समेत बताए । उनले भने, ‘शिवजी खेल्ने ओडार हलेसीमा पर्छ । उक्त क्षेत्र चाम्लिङको हो । त्यही भएर भगवान् शिव पनि चाम्लिङ हुन सक्छन् ।’

