काठमाडौँ । देउवाले आफ्नो राजनीतिबाट रिटायर्ड हुन लागेकाे बताएका छन् ।
कांग्रेसकी नेता गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले रिटायर्ड हुँदैगर्दा चुनावमा टिकट नपाए अर्काेलाई हराउनतर्फ लाग्ने पार्टीकाे राेगलाई हटाएर पार्टीलाई एक बनाउने इच्छा रहेको बताए ।
‘पार्टीमा टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ,’ देउवाले भने, ‘म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ।’
उनले पार्टी एक्लैकाे बहुमत नआउने भएपछि कहिले माओवादीसँग, कहिले एमालेसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।
‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ,’ उनले भने, ‘हिजो माओवादीसँग मिलियो, अहिले एमालेसँग मिलिएको छ, के गर्नुहुन्छ ? हामी ठूलो पार्टी भए पनि बहुमत थिएन । हाम्रो पार्टीमा सबै एक भयौं भने हाम्रो एक्लैले पनि बहुमत ल्याउन सक्छ ।’
उनले नेपाली कांग्रेस बलियो बनाउने मात्रै सोच रहेको समेत बताए । ‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन,’ देउवाले भने ।

