रास्वा र राप्रपालाई पेलेरै अघि बढ्यो संसद, सभामुखलाई ज्ञानेन्द्र शाहीले भने- दादागिरी बन्द गर्नुस्

संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ र ? यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।

spot_img

काठमाडौं । रास्वपा र राप्रपाकाे विराेधकाबिच संसद बैठक अघि बढेकाे छ । प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् ।

प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नाराबाजी गरिरहेको छ ।

यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरेपनि सभामुखले मानेनन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ र ? यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।’

संसद्‌मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए ।

तर, सभामुखले प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए ।

आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए ।

त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखसँग समय मागे ।

सभामुखले समय दिएपछि पाण्डेले भने, ‘सभामुखज्यु, रोष्ट्रममा अर्थमन्त्रीज्यु महत्वपूर्ण कुरा सुनाइराख्नुभएको छ । तर, प्रतिपक्षमा रहेकामध्ये एउटा दल नारावाजीमा छ । यो नाराबाजीले मन्त्रीले भनेका कुरा हामी सुनिरहेका छैनौं । कसरी सभा चलाउने हो ? यो सभा चलाउने अहिलेको यो तरिका भएन सभामुख महोदय, यो बैठक स्थगित गरेर, सहमति गरेर र एउटा टुंगोमा पुगेर मात्रै अगाडि बढाइयोस् ।’

तर पनि प्रतिपक्षी दलले गरेको आग्रह सभामुखले सुनेनन् । अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरिसकेपछि सांसदहरूलाई त्यसमाथि धारणा राख्न समय दिए ।

हाल प्रतिनिधिसभामा विरोधका रहेको दल नाराबाजी गरिरहेको छ भने विरोधमा नरहेका दल आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार