काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पक्षधरहरूसँग सरकार डराएको बताएका छन् ।
उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो । सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो । हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ । हामीलाई यसले उत्साहित तुल्याएको छ ।’
राजावादीकाे दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको बताए ।
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले तेस्राे दिन शनिबार पनि आन्दोलन गरे । आज राजावादीहरूले नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने तालिका रहेपनि शुक्रबार साँझ नारायणहिटी दरबार परिसरमा निषेधित क्षेत्र घोषणा हुँदा शान्तिबाटीकामा प्रदर्शन गरे ।
रत्नपार्कबाट सुरु भएको राजावादीकाे आन्दोलन नक्साल हुँदै बालुवाटार पुगेको थियाे ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका उच्चपदस्थको सरकारी निवास रहेको क्षेत्रमा पुगेर राजावादीहरूले प्रदर्शन गरेका छन् । आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’, लगायतका विभिन्न प्लेकार्डसहितका नारा लगाएका छन् ।
बालुवाटारलाई यसअघि नै सरकारले संवेदनशील क्षेत्रको रुपमा लिँदै निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
निषेधित क्षेत्र तोड्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

