काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बुधकार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता रहेको हल्ला चलाइएको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।
‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरू आएका छन् । र, सामाजिक सञ्जालमार्फत जसरी विचारहरू अभिव्यक्त भएका छन् । त्यो असत्य कुरा हो । बेठीक कुरा हो । त्यसमा मेरो कुनै संलग्नता छैन,’ गृहमन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीतिक पूर्वाग्रहप्रेरित रहेको दाबी पनि गरे । ‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहप्रेरित र षड्यन्त्रमुलक छ । र, त्यसको क्रम जारी छ भन्ने अनुभूति गरेको छु,’ उनले भने ।
‘पार्टीमा एकजना कार्यकर्तामाथि छलफल भयो भने पार्टीका सभापतिले राजीनामा गर्ने’ उनले प्रश्न गरे।
लेखकले आफूबिरुद्ध कुनै उजुरी नभएकाले यसमा आफूलाई अन्याय भएको पनि बताए ।
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र आफू सघाउन तयार रहेको बताए ।
प्रतिनिधि सभामा बोल्न समय माग गरे पनि विपक्षीहरूको अवरोधका कारण बोल्न नपाएका उनले बुधबार अपराह्न संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् ।

