काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसाका नाममा भएको मानवतस्करीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा सांसद् शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरे । यस्तै गृहमन्त्री र उनको सचिवालय मुछिएको यो प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण अन्तरगत छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे ।
‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं । संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन ।’
भिजिट भिसा प्रकरणमा गृहमन्त्रालय सहसचिव तीर्थराज भट्टराई पक्राउ परिसकेका छन् । यही प्रकरणमा गृहमन्त्रीको सचिवालय पनि संलग्न भएको भन्दै मन्त्री रमेश लेखकको समेत राजीनामा माग गरिएको हो ।
यसअघि रास्वपा, माओवादी र कांग्रेसकै केही नेताहरुले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

