काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौँ एमालेको हातमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
आइतबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै जेठ १५ गते राजावादीहरूले काठमाडौंमा गर्ने भनेको आन्दोलनलाई सफल हुन नदिने घोषणा गरे ।
उनले भेलामा भने, ‘निर्देशन पछि आउला, १५ गतेका लागि यहाँबाट उठ्ने बित्तिकै तयारी थाल्नुस्, १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुस्, १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्दछ, आन्दोलनमा प्रोटोकलका कुरा हुँदैन, सबै एकै हो, अगाडि बढौँ, आन्दोलनमा हामी सबै त्यस अनुसार तयारीमा लगौँ।’
ओलीले थपे, ‘एमाले मैदानमा उत्रिएपछि यिनीहरू कताकता जान्छन् ।’
राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । सोही दिन काठमाडौं कब्जा गर्न प्रधानमन्त्रीले कार्यकर्तालाई निर्देशन दिएपछि स्थिति तनावग्रस्त हुने संकेत दिएको छ ।

