खुश्मा चलचित्रको सफलतासंगै ‘जलाकी’ निर्माण युनिट छायाँकनको लागि रुकुम पूर्वमा

spot_img

काठमाण्डौँ । ‘खुस्मा’ फिल्मको सफलतासंगै निर्देशक अशोक थापा मगरको टिमले नयाँ फिल्म ‘जलाकी’ काे निर्माण गर्न लागेकाे छ । पोखराको बिन्ध्याबासिनी मन्दिरमा ‘जलाकी’ काे शुभ मुहूर्त गरेसँगै फिल्मकाे छायाँकन शुरू गरिएको थियाे ।

फिल्मको छायांकन बागलुङको कालिका भगवती मन्दिरबाट सुरु गरिएकाे थियाे । बाँकी फिल्मकाे छायाँकनका लागि जलाकीकाे यूनिट अहिले रुकुम पूर्वमा पुगेको छ । जलाकी यूनिटले रोल्पाको उवामा गुँरासको दृश्यको छायांकन सकेर बाँकी छायाँकनको लागि रुकुम पूर्वको काँक्रीमा पुगेकाे छ ।

निर्देशक अशोक थापा मगरका अनुसार, फिल्मको छायांकन तीन चरणमा गरिनेछ । रुकुम, म्याग्दी, बागलुङ, पोखराका विभिन्न स्थान सहित दक्षिण कोरियामा समेत छायांकन हुनेछ। फिल्मले मगर र गुरुङ समुदायको संस्कृति झल्काउने बताइएको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारी प्रमुख भूमिकामा छन् ।

 

‘जलाकी’ शब्द मगर समुदायमा स्मृति र मायाको प्रतीक मानिन्छ। यो ढुंगाले बनाइएको एउटा विशेष स्तम्भ हो, जसलाई खासगरी कुनै प्रिय व्यक्तिको सम्झनामा राखिने गरिन्छ। यो स्तम्भ मगर समुदायको आस्थाको प्रतीक पनि हो, जसले सांस्कृतिक र भावनात्मक महत्व बोकेको हुन्छ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ भने अन्य केही कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्देशक अशोक थापा मगरले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार