काठमाडौं । सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’ले चार पात्र सार्वजनिक गरेको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेनको चरित्र पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमध्ये एउटामा निर्देशक सन्तोष सेनकाे छुट्टै पोस्टर पनि सार्वजनिक भएकाे छ । पोस्टरमा उनी चिन्नै नसकिने अवतारमा छन् । पोस्टर झट्ट हेर्दा पहिलो नजरमा उनलाई चिन्नै गाह्रो पर्छ । यसअघि चलचित्रमा कलाकारको रूपमा आफु भएकाे नबताएका उनले एकैचोटि उनले पोस्टर सार्वजनिक गरेका हुन् ।
पाेस्टर सार्वजनिक गर्दै निर्देशक सेनले लेखेका छन्, ‘यी तस्बिरहरू पोस्टर मात्रै होइनन्, यी पात्रहरू हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन् ।’
साथै उनले आफ्नो पात्र कथा भित्र सीमित नभएर यसले आफ्नो समाजलाई परिभाषित गरेको बताएका छन् ।
यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट, सौगात मल्ल र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ ।
आसुसेन फिल्म्स्को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
याे चलचित्र दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने छ ।

