नवीन चौहानद्वारा लिखित तथा निर्देशित सिनेमा ‘ऊनको स्वीटर’मा प्रेम, समर्पण, स्मृति र त्यागका कथाहरू कुशलता पूर्वक बुनिएको छ । कथामा अभिनय, सम्पादन, ध्वनि संयोजन र संगीतको बेजोड समायोजन हेर्न पाइन्छ । नेपालको पूर्वी पहाडमा छायांकन गरिएको सिनेमाले त्यहाँको जीवनशैली, कला, संस्कृति र सामाजिक परिवेशलाई सुन्दरता पूर्वक प्रस्तुत गरेको छ । ऊनको स्विटरले मौलिकता, नेपाली पन र ग्रामिण सौन्दर्य पस्केको छ । व्यावसायिक चलचित्र कलात्मक पनि हुन सक्छन् भन्ने एउटा उदाहरण हो ऊनको स्वीटर ।

ऊनको स्विटर, प्रमुख पात्र धरणीधर (विपिन) को दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । कथाका सूत्रधार धरणी नै हुन् ।
धरणिका साख्खै भाइ डम्बरेले लिम्बू खलककी छोरी इक्सालाई भगाएपछि समाज भाँडिएको छ । आफ्नै भाइबन्धुबाट ‘कूल बिगारेको’ आरोप लागेको छ । उनको मिस्त्री काम खोसिएको छ।
धरणीकी आमाले जहिले आफ्नो घर बनाउन फुर्सद छैन भन्थिस, अब त फुर्सद भयो आफ्नै घर बना भनेसँगै धरणिले आफ्नै घर बनाउन शुरु गर्छन । धरणीले घर बनाउँदै गर्दा उनको फ्ल्यासब्याकमा लैजान्छ र एउटा अतृप्त प्रेमकथा सुनाउँछ ।
अधबैंसे र अन्तर्मुखी धरणीले फूल (मिरूना मगर) सँग प्रेम गर्छन । मितबुबाकोबाट आलु लिएर घर फर्किदा फूलले धरणीलाई अटो भर्न दिन्छिन् । अटोमा धरणीले आफ्नो प्रेम भर्छ, बाल्यकालका स्मृति पल्टाउँछ ।

बेसी घर भएका धरणी फूलसँगको प्रेम व्यक्त गर्न लेक उक्लिन्छन् । धरणी, एक प्रेमी आफ्नो प्रेम व्यक्त गर्न प्रेमिका भएको ठाउँ लेक उक्लिदाको प्रेमीको मनोभाव र प्रेमभाव निकै नै मिठासपूर्ण छ । दुई अन्तरजातिय प्रेमीहरुको प्रेम, सामाजिक परिबन्ध, समर्पण र त्यागलाई यस फिल्ममा प्रस्तुत गरीएको छ । जातीय व्यवस्थाकै कारण धरणीधर र फुलको असफल प्रेमभित्रको भाव र त्याग कथाले निकै नै मिठो गरी बुनेको छ ।
सिकर्मि बन्न सिकीरहेका धरणीले छानाको एक टुक्रा ढुंगा हटाएर, छानो उघारेर देखिने जुन र पात्रहरू माथी खसेको जुनको अद्भुत प्रकाश संयोजनको दृश्य निकै नै सुन्दर छ । फूल पल्टिएर आकाशको जुन हेरि रहेकी छिन् र धरणी छेउमा ढल्किएर फूललाई हेरिरहेका छन् । यसले पात्रको मनस्थितिलाई कलात्मत तरिकाले प्रस्ततु गरीएको छ । यो दृश्यमा निर्देशक र छायाँकारले सृजनात्मकता र कल्पशीलताको स्पर्श दिएका छन् । यो दृश्य हेर्ने हर कोहिले प्रेमिल अनुभूति गर्छन ।

सिनेमामा अरूको घर बनाइदिने धरणीको आफ्नै घरबार लथालिङ्ग भएको बिम्ब साह्रै उत्कृष्ट तरीकाले प्रयोग गरीएको छ । घर परिवार, माया र सम्बन्धले बनेको हुन्छ भन्ने कुरा निकै गहिरो भावमा व्यक्त गरीएको छ ।
सिनेमाले जातीय व्यवस्थाभित्रको सद्भाव राम्ररी देखाएको छ । बाहुन थरका धरणी मित बुबाको साइनो लगाउँदै लेकका गुरुङकहाँ आलु लिन जान्छन् । आफ्ना मनका बह पोख्न दलितकहाँ जान्छन् । ‘सेवारो, आदङ्वा आदङ्वासे’ भन्दै कुटुम्बेली रीत बुझाउन लिम्बूको आँगनमा पुग्छन् । सम्बन्धको धागोले समाजलाई कति सौहार्दपूर्ण ढङ्गले बुनेको छ, नजानिँदो ढङ्गमा सिनेमाले यो कुरा भन्छ ।
अन्तरजातिय विवाह गरेर गएका भाइ डम्बरे एक साँझ घर फर्किन्छ , सँगै बुहारी इक्सा पनि । धरणीले भाइलाई छातीमा टाँसेर भन्छ, ‘तैंले केही बिगारेको छैनस, ठिक गरिस् कान्छा ।’ सामाजिक परिबन्धकै कारण आफ्नो प्रेम त्यागेका धरणीधरले भाइको अन्तरजातिय प्रेम सहर्ष स्विकार्नुले बदलिरहने समाजलाई प्रतिबिम्ब गर्छ ।
प्रेमले कहिले समाजलाई जोड्छ, कहिले तोड्छ ।

सिनेमामा शब्दले लेख्न र बोल्न नसकेको भाषा दृश्यले बोल्नुपर्छ । ऊनको स्वीटरले दृश्यमार्फत केहि मजबुत दृष्य भाषाको निर्माण गरेको छ । पुर्वी पहाडको प्राकृतिक सुन्दरता, संघर्षपूर्ण जीवन तथा सम्वन्ध सिनेम्याटोग्राफर चिन्तन राज भण्डारीले मिहिन रूपमा पर्दामा उतारेका छन् ।
सिनेमाको बलियो पक्ष भनेकै संगित संयोजन हो । नेपाली चलचित्रमा बिजिएम (ध्वनि सम्पादन) कमजोर रहेको अवस्थामा यस सिनेमामा बिजिएमले अभिनय, कथा र भावलाई निकै मिठो तरिकाले बुनेको छ । सिनेमा हेरिरहँदा यसको सङ्गीतले दर्शकलाई थप भावनामा डुबाउँछ । ‘फूल’, ‘काफ्ले’ र ‘तिमी बिना तिमी हुन’ जस्ता चर्चित गीतले सिनेमालाई महत्वपूर्ण योगदान गरेको छ ।
विपिन कार्कीेको अभिनय सधैजस्तै तारीफयोग्य छ । मिरूनाको निकै निखारिएको अभिनय हेर्न सकिन्छ । फूलको पात्रलाई मिरुनाले निकै मिहिन ढंगले निभाएकी छिन् । फूल पात्रका रूपमा मिरुना बाहेक अरुलाई सम्झिन सकिदैन । एलेक्स पारस, परीक्षा लिम्बुको अभिनय तारिफयोग्य छ । यो जोडिले निरुता सिंह र दिलिप रायमाझीलाई समर्पित गर्दै चाइनेजो जिन्दगानीमा बोलको गितमा गरेको नृत्य प्रशंशनिय छ । माओत्से गुरुङ, सुनिल पोखरेल, विल्सम विक्रम राईको अभिनय सदा झै तारीफयोग्य छ । यस सिनेमामा दर्शक भावुक हुने ठाउँमा भावुक हुन्छन् र हाँस्नु पर्ने ठाउँमा मन खोलेर हाँस्छन् ।

सिनेमाले बिम्बात्मक शैलीमा धेरैजसाे परिदृश्य देखाउन खाेजेकाे छ । धरणीका बुबाले लिम्बुको चिहान खन्नु, नदीमा गएर आत्महत्या गर्नुले मृत्यु संस्कारलाई बिम्बात्मक शैलीले प्रस्तुत गरीएको छ ।
लिम्बु संस्कार र सृस्कृतिलाई निकै नै मिहिन र सुन्दर तरिकाले पस्कन खोजिएको छ ।
यद्यपी सिनेमामा धेरै कमजोरीहरु छन् । सिनेमाको पटकथा कमजोर तरीकाले प्रस्तुत गरीएको छ । पटकथालाई कसिलो र छरितो बनाउने ठाउँ अझै छ । सिनेमामा समावेश धेरै कथाहरू असन्तुलित छन् । धरणीधर र फूलको प्रमुख कथाबाट मोडिएर फूलको बुबाको अलग कथा, फूलको आफ्नै कथा, फूलको भाइको कथा, धरणीको बुबाको कथाहरूले दर्शकलाई अलमल्याई दिन्छ । अरू पात्र सँगको बढी सेयरिङले मूल कथालाई थोरै कमजोर बनाएको छ ।
जातीय भेदभावका आधारमा एक दलित पात्रको घरमा आगो लगाएर गाउँ निकालिएको दृश्यले दर्शकहरूलाई स्तब्ध बनाइदिन्छ तर यो दृश्य कुनै मजबुत कारण र पृष्ठभूमि बिनै आउँदा थोरै अप्रासंगिक लाग्छ ।

धरणी (विपिन कार्की)को लिम्बु लवज त्यति सुहाँउदैन । धरणीको भाइ र रिक्साको कथाको थोरै स्क्रिन टाइम छ ।
सिनेमाको अन्य छायाँकनको पक्ष एकदमै तारीफयोग्य भएपनि सिनेमाको शुरुवाती १५ मिनेटसम्मको छायाँकनको फ्रेम र स्मुदनेश सम्पादन गर्दा जबरजस्ती मिलाएको आभास हुन्छ ।
खासगरी, सुरुवाती दृश्यहरूको सिलसिला टुट्दा दर्शक अलमलिन सक्छन् । पात्र र घटनाक्रम स्थापित गर्न केही समय लाग्छ ।
मुख्य पात्र धरणीलाई गीताङ्गेका रूपमा चित्रित गरिएको छ, जो लुकीछिपी गाउँछन् । तर, सुजन चापागाईँको स्वरमा धरणीको स्वरको तालमेल मिलेजस्तो लाग्दैन ।
सिनेमाको क्लाइमेक्स ट्र्याजेडि बिम्बात्मक राखिएको छ । जसले सिनेमा अपूरो बनेको जस्ताे लाग्छ ।
अन्त्यमा, निर्देशकले सिनेमामा प्रेम वियोगलाई सृपनात्मक र कलात्मक शैलीबाट कुशलता पूर्वक पस्केका छन् । सिनेमाले बिम्बात्मक शैलीमा समाजको सौन्दर्य देखाउँछ । जातीय विविधताभित्रकाे समाजभित्रकाे सद्भाव र साैहार्दता सिनेमाले देखाउँछ । धरणाी र फूलकाे माधयमबाट अतृप्त प्रेमको आभास गराउँछ ।

