सही सूचना र वैकल्पिक गन्तव्यको प्रवर्द्धनबाट नेपालको पर्यटन जोगाऔँ

पर्यटन जोगाउनु भनेको स्थानीय अर्थतन्त्र जोगाउनु हो। पर्यटक आउँदा होटल मात्र चल्दैन। किसानको तरकारी बिक्री हुन्छ, स्थानीय उत्पादन बजार पाउँछ, यातायात चल्छ, गाइडले काम पाउँछ, हस्तकलाको कारोबार बढ्छ र गाउँका युवाले आफ्नै ठाउँमा आम्दानीको अवसर पाउँछन्। युवा पलायनलाई केहि हदसम्म रोक्छ।

spot_img

रसुवामा आएको बाढीले नेपाल प्राकृतिक विपद्को जोखिमबाट मुक्त छैन भन्ने वास्तविकता पुनः स्मरण गराएको छ। विपद् भएको स्थानमा नागरिकलाई समयमै सचेत गराउनु, यात्रा सुरक्षाबारे जानकारी दिनु र सम्भावित क्षतिबाट जोगाउनु राज्यको दायित्व हो। मौसम पूर्वानुमान तथा जोखिमसम्बन्धी सूचना नागरिक सुरक्षाका लागि अपरिहार्य छन्।

तर एउटा गम्भीर प्रश्न पनि उठेको छ । कुनै निश्चित भूगोलमा देखिएको प्राकृतिक जोखिमलाई सम्पूर्ण नेपालको अवस्थासँग जोडेर प्रस्तुत गर्दा त्यसको प्रत्यक्ष असर पर्यटन उद्योगमा पर्दैन र ? आजभोलि  सामाजिक सञ्जालमा एउटा दृश्य वा अपुष्ट सूचना केही मिनेटमै हजारौँ मानिससम्म पुग्छ ।  कुनै ठाउँमा आएको बाढी, पहिरो वा खराब मौसमको तस्बिर तथा भिडियोलाई सन्दर्भ नखुलाई सम्पूर्ण नेपालकै अवस्थाजस्तो प्रस्तुत गरिँदा विदेशबाट नेपाल आउन चाहने पर्यटक मात्र होइन, आन्तरिक भ्रमणको योजना बनाएका नेपाली समेत यात्रा स्थगित गर्न पुग्छन्।

यसको असर होटलमा मात्र सीमित हुँदैन। यातायात व्यवसायी, पर्यटन गाइड, भरिया, रेस्टुरेन्ट, स्थानीय किसान, हस्तकला व्यवसायी, साना पसले तथा पर्यटनमा निर्भर परिवारको आम्दानीसमेत प्रभावित हुन्छ ।

त्यसैले अहिलेको आवश्यकता विपद्को सूचना रोक्नु होइन, तथ्य र भूगोल स्पष्ट हुने गरी जिम्मेवार ढंगले सम्प्रेषण गर्नु हो। नेपाल एउटा मात्र पर्यटन गन्तव्य  भयको देश होइन। नेपालको सबैभन्दा ठूलो शक्ति यसको भौगोलिक तथा सांस्कृतिक विविधता हो। एउटा क्षेत्रमा प्रतिकूल मौसम देखिँदैमा देशका सबै गन्तव्यको अवस्था समान हुँदैन ।

सुदूरपश्चिममा अपि–सैपाल, खप्तड, बडिमालिका, रामारोशन, सुर्मा सरोवर, शुक्लाफाँटा तथा सेती र कर्णालीका जल पर्यटनजस्ता अनेकौँ सम्भावना छन्। प्रकृति, साहसिक यात्रा, धार्मिक आस्था, जैविक विविधता र मौलिक संस्कृतिका दृष्टिले यी क्षेत्रले नेपाली तथा विदेशी पर्यटकलाई फरक अनुभव दिन सक्छन् ।

कर्णालीमा हुम्ला, रारा, शे–फोक्सुण्डो लगायतका गन्तव्य छन्। हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य, पदयात्रा, संस्कृति र साहसिक पर्यटनका लागि यी क्षेत्रको सम्भावना ठूलो छ।

त्यसैगरी लुम्बिनी प्रदेशमा लुम्बिनी,  बाके, बर्दिया र स्वर्गद्वारी जस्ता महत्वपूर्ण गन्तव्य छन्। धार्मिक, आध्यात्मिक, वन्यजन्तु तथा प्रकृति पर्यटनलाई जोडेर यहाँ लामो समयसम्म पर्यटक राख्न सकिने आधार छ।

यी गन्तव्यको अवस्था सामान्य र यात्रा योग्य छ भने त्यसको स्पष्ट जानकारी देशभित्र र अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनु आजको आवस्यकता हो।

अब सरकारसँग ठोस कार्ययोजनाको अपेक्षा

पर्यटन प्रवर्द्धन केवल औपचारिक कार्यक्रम र भाषणमा सीमित हुनु हुँदैन । विपद्का कारण एउटा क्षेत्र प्रभावित हुँदा अर्को सम्भावनायुक्त गन्तव्यलाई बजारमा ल्याउने राष्ट्रिय वैकल्पिक पर्यटन रणनीति आवश्यक छ ।

सरकारले तत्काल निम्न काम गर्नुपर्छ।

पहिलो –  प्रमुख पर्यटन गन्तव्यको मौसम, सडक, पदमार्ग, हवाई सेवा, सञ्चार तथा सुरक्षा अवस्थाबारे नियमित अद्यावधिक सूचना दिने एकीकृत डिजिटल प्रणाली विकास गरिनुपर्छ ।

दोस्रो –  प्रत्येक गन्तव्यको जोखिम अवस्था वैज्ञानिक आधारमा वर्गीकरण गरी ‘सामान्य’, ‘सावधानी आवश्यक’ र ‘उच्च जोखिम’ जस्ता स्पष्ट सूचना सार्वजनिक गर्नुपर्छ ।

तेस्रो – कुनै गन्तव्यमा विपद् आएमा सम्पूर्ण देशलाई असुरक्षित देखाउने होइन, यात्रुका लागि उपलब्ध सुरक्षित वैकल्पिक गन्तव्यको सूची तत्काल सार्वजनिक गर्नुपर्छ ।

चौथो – नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका गन्तव्यको विशेष प्रचार अभियान सञ्चालन गर्नुपर्छ ।

पाँचौँ – सामाजिक सञ्जालमा फैलिएका पुराना, अपुष्ट वा गलत सामग्रीको तत्काल तथ्य जाँच गरी वास्तविक अवस्था सार्वजनिक गर्ने प्रभावकारी संयन्त्र स्थापना गर्नुपर्छ ।

छैटौँ – अन्तर्राष्ट्रिय पर्यटक तथा विदेशी ट्राभल कम्पनीका लागि अंग्रेजी भाषासहित आवश्यक भाषामा आधिकारिक सूचना उपलब्ध गराउनुपर्छ ।

सातौँ –  प्रभावित पर्यटन व्यवसायीलाई सहुलियतपूर्ण कर्जा, ब्याज राहत तथा व्यवसाय पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्छ।

आठौँ – सडक, पुल, पदमार्ग, विमानस्थल, सञ्चार, उद्धार तथा स्वास्थ्य सेवाजस्ता आधारभूत पूर्वाधारलाई पर्यटनसँग प्रत्यक्ष जोडेर दीर्घकालीन लगानी बढाउनुपर्छ ।

सुरक्षित गन्तव्यलाई बजारमा लैजानुपर्छ

अहिलेको अवस्थामा सरकारले र निजी क्षेत्रले मिलेर ‘जहाँ सुरक्षित छ, त्यहाँ यात्रा गरौँ’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सक्छन् ।

कुनै क्षेत्रमा प्राकृतिक विपद्का कारण भ्रमण सम्भव छैन भने यात्रुलाई अर्को क्षेत्रको विकल्प दिन सकिन्छ । यसबाट पर्यटकको यात्रा रद्द हुनुको सट्टा गन्तव्य परिवर्तन हुन सक्छ ।

सुदूरपश्चिममा खप्तड, बडिमालिका, अपि–सैपाल, रामारोशन, सुर्मा सरोवर र शुक्लाफाँटालाई एउटै पर्यटन सर्किटमा जोड्न सकिन्छ । सेती र कर्णालीका नदीमा सम्भाव्य जल पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ ।

कर्णालीमा रारा, शे–फोक्सुण्डो र हुम्लालाई प्रकृति, संस्कृति तथा साहसिक यात्रासँग जोडेर प्याकेज निर्माण गर्न सकिन्छ ।

लुम्बिनी, बर्दिया र स्वर्गद्वारीलाई धार्मिक, आध्यात्मिक, वन्यजन्तु तथा प्रकृति पर्यटनसँग जोडेर संयुक्त कार्यक्रम बनाउन सकिन्छ । यसरी पर्यटनको भार केही सीमित गन्तव्यमा मात्र केन्द्रित नगरी देशका विभिन्न भूगोलमा फैलाउन सकिन्छ।

व्यवसायीको भूमिका पनि उत्तिकै महत्वपूर्ण

पर्यटन व्यवसायीले सरकारलाई मात्र दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। निजी क्षेत्रले पनि पर्यटकको सुरक्षा, सेवा र विश्वासलाई पहिलो प्राथमिकता दिनुपर्छ।

व्यवसायीले आफ्नो गन्तव्यको वास्तविक अवस्था मात्र प्रचार गर्नुपर्छ। मौसम, सडक वा अन्य जोखिमबारे पर्यटकलाई सही जानकारी दिनुपर्छ । सेवा तथा मूल्यमा पारदर्शिता कायम गर्नुपर्छ। सरसफाइ, आतिथ्य, स्थानीय खाना, संस्कृति र वातावरण संरक्षणलाई व्यवसायको अभिन्न हिस्सा बनाउनुपर्छ ।

त्यसैगरी व्यवसायीले सामाजिक सञ्जाललाई केवल विज्ञापनको माध्यम नबनाई विश्वसनीय पर्यटन सूचना दिने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ ।

स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने, नयाँ भ्रमण प्याकेज बनाउने, पर्यटकलाई लामो समयसम्म बस्ने वातावरण तयार गर्ने र स्थानीय युवालाई रोजगारीसँग जोड्ने जिम्मेवारी पनि निजी क्षेत्रकै हो ।

मिडियाको जिम्मेवारी झनै ठूलो छ

प्राकृतिक विपद्को समाचार सम्प्रेषण गर्दा घटना भएको स्थान, समय र वर्तमान अवस्थालाई स्पष्ट पार्नु आवश्यक छ । पुरानो तस्बिर वा भिडियो प्रयोग गरेर नयाँ घटनाको सन्देश दिनु हुँदैन ।

भ्युज र पहुँच बढाउने प्रतिस्पर्धाभन्दा नागरिकलाई सही सूचना दिने जिम्मेवारी ठूलो हो । एउटा क्षेत्रमा आएको बाढीको समाचार आवश्यक छ भने त्यससँगै अन्य प्रमुख पर्यटन गन्तव्यको अवस्था पनि तथ्यका आधारमा जानकारी गराउन सकिन्छ । यसले यात्रुलाई सही निर्णय लिन सहयोग गर्छ र सुरक्षित क्षेत्रको पर्यटनसमेत जोगिन्छ ।

पर्यटन जोगाउनु भनेको स्थानीय अर्थतन्त्र जोगाउनु हो। पर्यटक आउँदा होटल मात्र चल्दैन। किसानको तरकारी बिक्री हुन्छ, स्थानीय उत्पादन बजार पाउँछ, यातायात चल्छ, गाइडले काम पाउँछ, हस्तकलाको कारोबार बढ्छ र गाउँका युवाले आफ्नै ठाउँमा आम्दानीको अवसर पाउँछन्। युवा पलायनलाई केहि हदसम्म रोक्छ।

त्यसैले पर्यटन उद्योग कमजोर हुँदा यसको असर एउटा व्यवसायमा होइन, सम्पूर्ण स्थानीय अर्थतन्त्रमा पर्छ। नेपालसँग गन्तव्यको कमी छैन। कमी छ भने विश्वसनीय सूचना, प्रभावकारी प्रचार, पूर्वाधार, समन्वय र कार्यान्वयनको गतिमा छ।

अब सरकारले विपद् व्यवस्थापन र पर्यटन प्रवर्द्धनलाई अलग–अलग विषयका रूपमा होइन, एकअर्कासँग जोडिएको राष्ट्रिय प्राथमिकताका रूपमा हेर्नुपर्छ। जोखिम भएको ठाउँमा सावधानी अपनाऔँ। सुरक्षित रहेका गन्तव्यको वास्तविकता संसारलाई बताऔँ। अपुष्ट सूचना रोकौँ। वैकल्पिक पर्यटन बजार विकास गरौँ।

सुदूरपश्चिमका अपि–सैपाल, खप्तड, बडिमालिका, रामारोशन, सुर्मा सरोवर र शुक्लाफाँटादेखि कर्णालीका हुम्ला, रारा, शे–फोक्सुण्डो तथा लुम्बिनी प्रदेशका लुम्बिनी, बर्दिया र स्वर्गद्वारीसम्मका गन्तव्यलाई राष्ट्रिय पर्यटन अभियानमा जोड्ने हो भने नेपालको पर्यटन बजारलाई नयाँ दिशा दिन सकिन्छ।

नेपालमा घुम्ने ठाउँको अभाव छैन; अब सुरक्षित गन्तव्यको सही सूचना र त्यसलाई विश्व बजारसम्म पुर्‍याउने इच्छाशक्ति चाहिएको छ। पर्यटनलाई डरले होइन, विश्वासले चलाऔँ।

सम्बन्धित समाचार

ताजा समाचार