काठमाडौँ । नेपाल पर्यटन बोर्डले हालै नियुक्त भएका कार्यकारी समितिका पाँच जना सदस्यहरूलाई एक कार्यक्रमका बिच औपचारिक रूपमा स्वागत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते निजी क्षेत्रका तर्फबाट नियुक्त गरेका नवनियुक्त सदस्यहरूलाई सोमबार बोर्डमा स्वागत गर्दै पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त सदस्यहरूलाई बोर्डको स्थापनाको उद्देश्य, नीति, कार्यक्रम र हालसम्मका उपलब्धिहरूबारे विस्तृत जानकारी गराएका थिए। उनले संस्थाको संरचना, भावी अवसर र चुनौतीहरूको चर्चा गर्दै ‘नेपाल आरोग्य वर्ष २०२७’ लाई सफल बनाउन बोर्डले गरिरहेको तयारीका विषयमा समेत अवगत गराएका थिए।
स्वागत कार्यक्रममा बोल्दै नवनियुक्त सदस्यहरूले पर्यटन क्षेत्रको विकासका लागि आ-आफ्नो धारणा राखेका थिए। सदस्य सन्तोष पोखरेलले उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालनमा जोड दिए भने सिर्जना केसीले सूचना प्रविधिको प्रयोग र तथ्यमा आधारित नीति निर्माणलाई प्राथमिकता दिइन्। यसैगरी, सहदेव धमलाले आगामी बजेटलाई पर्यटन क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन (थ्री पी) मा केन्द्रित गर्नुपर्ने सुझाव दिए। अर्का सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने माग राख्दा डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर र सुशासनको आवश्यकता औँल्याइन्।
नवनियुक्त सदस्यहरूको आगमनसँगै बोर्डले पर्यटन क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउने अपेक्षा गरिएको छ। संस्थागत हितलाई केन्द्रमा राखेर सरकार र निजी क्षेत्रबिच सेतुको रूपमा काम गर्ने सबै पदाधिकारीहरूको साझा प्रतिबद्धताले पर्यटन उद्योगमा सकारात्मक ऊर्जा थपेको छ।

