काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला केही युवाहरूले कालोझण्डा देखाएका छन् । प्रचण्डको साथ छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका जनार्दन शर्मालाई उनकै गृहजिल्ला रूकुम पश्चिममा कम्युनिस्ट पार्टीनिकट केही युवाहरूलेकालो झण्डा देखाएका हुन् ।
माओवादी परित्याग गरेर प्रलोपा गठनपछि शर्मा पहिलो पटक आज गृहजिल्ला पुगेका थिए। आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका हुन् । कालो झन्डा देखाउँदै करिब २० जनाको संख्यामा पुगेका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले जनार्दनविरूद्ध नाराबाजी गरेका थिए ।
कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने उनीनिकटका कार्यकर्ताले विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् ।
शर्माले जनता र सहिदलाई धोका दिएको उनीहरूको आरोप थियो ।

