काठमाडाैँ । आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नौ जना आकांक्षी रहेका छन् । रास्वपाले साउन ७ देखि २१ गतेसम्म खुलाएको आवेदनमा परेका सदर नामहरू बिहीबार सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीअनुसार आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवा समेत छन् ।

उम्मेदवार आकांक्षीहरूमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूदेखि पार्टीका सक्रिय पदाधिकारीसम्म छन् ।
काे काे हुन् उम्मेदवार आकांक्षी ?
सुलभ खरेल – बुटवल उप-पहानगरपालिका-१६ का सुलभ कानुन व्यवसायी हुन् । के पी शर्मा ओलीकाे संसद विघटनका विरूद्धका रिट दायर गर्ने सबैभन्दा कान्छा अधिवक्ता हुन् ।
उनी रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनकै लागि अमेरिकाबाट बुटवल आएका हुन् ।
पार्थिवेन्द्र उपाध्याय – सिद्धार्थनगर नगरपालिका -७ का उपाध्याएले राजनीतिशास्त्रमा स्नातकोत्तर र नर्वेबाट अंग्रेजी साहित्यमा एमफिल गरेका छन् । उनी अधिवक्ता पनि हुन् । रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख रहेका उपाध्यायले उम्मेदवार बन्ने तयारीस्वरूप केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए । उनी २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । एमालेको राजनीतिक पृष्ठभूमि भएका उपाध्याएकी श्रीमती उमा अधिकारी एमालेबाटै निर्वाचित सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख हुन् ।
डा. लेखजङ्ग थापा – सिद्धार्थनगर नगरपालिका-९ का थापा बरिष्ठ न्युरोलोजिष्ट हुन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक उम्मेदवार थिए ।
ज्ञानु पौड्याल – सिद्धाथनगर नगरपालिका-८ की पौड्याल सहकारी अभियन्ता हुन् । एमाले राजनीतिक पृष्ठभूमिकी उनी पौडेल लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष समेत हुन ।
जितबहादुर गुप्ता – सिद्धार्थनगर नगरपालिका-१ का गुप्ता २०७९ को आमनिर्वाचनमा रूपन्देही-३ मा राप्रपाका दिपक बोहोरासँग पराजीत भएका थिए ।
कुशुम महर्जन – मध्यपुर ठिमीकी- ६ की महर्जन (पार्टी केन्द्रिय सदस्य) गत आम निर्वाचनमा रास्वपाकी समानुपातिक उम्मेदवार थिइन् । उनले अहिले उम्मेदवार बन्नकै समानुपातिक सूचीबाट आफ्नो नाम हटाएकी छन् । उनको जन्मघर भैरहवा हो ।
रचना क्षेत्री – सिद्धार्थनगर नगरपालिका- ३ की क्षेत्री पार्टीकी जिल्ला कोषाध्यक्ष हुन् ।
पुनमकुमारी अग्रवाल– सिद्धार्थनगर नगरपालिका-८ कि अग्रवाल उद्योगी हुन् । अग्रवाल नेपालकै ठूलो प्राङ्गारिक मल उद्योगकी सञ्चालक हुन् ।
मधु प्रसाद अर्याल – बुटवल उप-पहानगरपालिका-१७ का अर्याल रुपन्देही-३ का सभापति हुन् । संगठन निर्माणमा अग्रपंत्तिमा रहेका उनी मन्टेशवरी स्कुलका सञ्चालक हुन् । उनी सामाजिक संघसंस्थामा पनि क्रियाशील छन् ।
रास्वपा सहमहामन्त्री आचार्यका अनुसार पार्टीको विधिअनुसार आन्तरिक निर्वाचनमार्फत अन्तिम उम्मेदवारको टुङ्गो लगाइनेछ । उपनिर्वाचनका उम्मेदवारीका लागि आकांक्षा देखाएका ९ जनालाई उम्मेदवारी उपर दाबि बिराेधका लागि २ दिन अर्थात साउन २३ र २४ गतेकाे समय दिइएकाे छ । यसपछि साउन २५ गते अन्तिम नामावली प्रकाशन गर्ने , भदौ ११ सम्म उम्मेदवारहरूलाई प्रशिक्षण दिने र भदौ १२-१३ मा आन्तरिक निर्वाचन गरी भदौ १५ गतेभित्र आधिकारिक उम्मेदवार घोषणा गरिनेछ ।
करिब डेढ लाख मतदाता रहेको यस क्षेत्रमा २०७९ को आमनिर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १४ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियाे । रवि लामिछानेमाथी भएकाे राजनितिक प्रतिशाेध विरूद्धकाे हस्ताक्षर अभियानले राम्रै चर्चा पाइरहेकाे बेला यसपटककाे उपनिर्वाचन राेचक हुने देखिन्छ ।

