सरकार र भ्रष्टाचार पर्यायवाची भनेर चित्रण गर्न खाेजिएकाे भन्दै प्रधानमन्त्रीकाे आपत्ति

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो । कसैले गल्ती गर्छ भने कारबाही हुन्छ, कसैलाई पनि छोडिन्न ।

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र भ्रष्टाचार पर्यायवाची भनेकाेमा आपत्ति जनाएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानामन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको र सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरे ।

‘फ्याट्ट झुक्किएर मान्छेले के भन्छ भने सरकार भ्रष्टाचारको पर्याय भएको छ । एक दुई भ्रष्टाचारीलाई कारबाही गरिदिएपछि देख्यौ त—भ्रष्टाचार गरेको रहेछ नि ऊ कारबाही गरेपछि भ्रष्टाचार भएको छर्लंगै देखियो त । कारबाही नगरेको राम्रो ?,’ उनले भने ।

बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी समेत गरे ।

उनले भने, ‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो । कसैले गल्ती गर्छ भने कारबाही हुन्छ, कसैलाई पनि छोडिन्न ।’

ओलीले राष्ट्रियसभामा भएको छलफलको समेत प्रशंसा गरे । उनले गहिरो अध्ययन र तयारीसहित विषयवस्तुमा केन्द्रित भई छलफल भएको भन्दै राष्ट्रियसभा सदस्यहरूलाई धन्यवाद दिए ।

‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ,’ उनले भने, ‘सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो, छलफल त्यहीअनुसार अगाडि बढेको छ ।’

यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको र मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार