काठमाडाैँ । नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव बहुमतले पारित गरेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो । याे निर्णयसँगै अध्यक्ष केपी शर्मा ओलीका लागि आउने महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न बाटो खुलेको छ ।
बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार गरेको विधान संशोधनको प्रस्तावमा उमेर हद र दुई कार्यकाल बढी उम्मेदवार हुन नपाउने व्यवस्था उल्लेख थियो । साे प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको छ । अब साे विधान संशोधनको प्रस्तावलाई आज बस्ने पोलिटब्युरो बैठकमा पेस हुने र केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए ।
बैठकले पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ।
केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने छ । भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ।

