काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई डर, भय र संकोच नहुनुमा कसको अकरमन्यताले गर्दा मानव तस्कर र स्मगलर हरूमा आट पलाएको हो भनेर प्रश्न गरेकी छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सुमनाले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै साे प्रश्न गरेकी हुन् ।
‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि भएकाे छ, कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर । सबैभन्दा दुखकाे कुरा चाहिँ, सदनमा यत्राे आन्दोलन हुँदै गर्दा पनि तस्करहरूलाई न डर छ न भय छ न संकाेच । कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र स्मगलरहरूमा पलाएको हो ? सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’ सुमनाको प्रश्न गरीन ।
यसका साथै श्रेष्ठले कास्कीको मालपोत कार्यालय र भूमि आयोगमा सेटिङ मिलाएर कर्मचारी पठाउने काम भएको आरोप लगाउँदै अनुसन्धानको माग गरिन् ।
उनले भनिन, ‘मन्त्रीबीच मिलेमतो, मालपोत र भूमि आयोगमा सेटिङ, अहिले त बुझियो होला भूमि विधेयक किन पास गरियो,’ उनले भनिन्, ‘एउटा मन्त्रीले अर्को मन्त्रीको पोल खोलेका छन्, छानबिन जरुरी छ ।’
२०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् ।
उक्त प्रतिवेदनले गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भनेर सरकारको ध्यानाकर्षण गरिन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्य दलमा केहि फरक नरहेको उनले बताइन् ।
मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने बताइन् ।
श्रेष्ठले भिजिट भिसा दुरुपयोगसम्बन्धी प्रकरणमा छानबिन समिति गठनको माग कायमै रहेको पनि स्मरण गराउँदै आन्दोलन जारी रहने बताइन् ।
प्रतिनिधिसभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि बहिष्कार गरेका छन् ।

