पुराना दलहरूले देश र जनताका समस्या हल गर्न सक्दैनन, कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा आउने निश्चित छ : बाबुराम भट्टराई

सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि?

spot_img

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदका दुइ ठूला दल मिलेर जनताका समस्याहरू हल गर्न सक्दैनन्  भन्ने प्रमाणित भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै भट्टराईले  दुई ठूला दल मिलेर बनेको सरकारले अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्या हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी ब्यबहारमै प्रमाणित गरिदिएको बताएका हुन् ।

‘संसदका दुई ठूला दल मिलेर बनेको सरकारको गत एक वर्षको सबभन्दा ठूलो उपलब्धि भनेको अब पुराना दलहरूले जतिपटक जोसुकैको नेतृत्वमा सरकार चलाए पनि उनीहरूबाट देश र जनताका गम्भीर संरचनात्क समस्याहरू (संस्थागत भ्रष्टाचार, बेरोजगारी, अल्पविकास, परनिर्भरता, पर्यावरण विनाश आदि) हल हुनै सक्दैनन् भन्ने कुरा आम जनताले बुझ्ने गरी व्यवहारमै प्रमाणित गरिदिनु हो,’ उनले लेखेका छन् ।

भट्टराईले तेस्रो ठूलो दलका सुप्रिमोले पटक-पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि समस्याको समाधानमा कुनै माखो मार्न नसकेको पनि बताएका छन् । ‘तेस्रो ठूलो दलका एकल सुप्रिमोले पटक-पटक च्याँखे थापेर सरकारको नेतृत्व गरे पनि यी गम्भीर संरचनात्मक समस्याहरूको समाधानमा कुनै माखो मार्न नसकेको पहिल्यै देखिसकिएकै हो,’ उनले भनेका छन् ।

यस्तो स्थितिमा नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो देशको नेतृत्व गर्ने अवसर आउने उनको दाबी छ । ‘यो स्थितिमा अब नेपाली इतिहासको कोर्टको बल नयाँ र वैकल्पिक शक्तिहरूको हातमा ढिलोछिटो आउने निश्चितै छ । उनीहरूले त्यसको गम्भीर तयारी कसरी गर्छन् वा गर्नुपर्छ ? आगामी दिनको राजनीतिक विमर्श अब त्यता सोझिनुपर्छ । सबैले आआफ्नो छातीमा हात राखेर ममः भन्ने कि ?,’ उनले प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार